काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले महासंघलाई कुनै पनि राजनीतिक दलको शाखा वा प्रचार विभागका रूपमा प्रयोग नगर्न आग्रह गरेका छन्।
महासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पत्रकारितामा बढ्दो राजनीतिकरण र घट्दो गुणस्तरप्रति गहिरो चिन्ता व्यक्त गरे। महासंघभित्र वैचारिक विविधता हुनु स्वाभाविक भए पनि पछिल्लो समय यो संस्था विभिन्न दल र गुटहरूको अङ्ग जस्तो बन्नु दुःखद रहेको उनको भनाइ छ।
पूर्वसभापति नेपालले राजनीतिले पत्रकारितालाई नियन्त्रण गर्न नहुने बरु पत्रकारिताले राजनीतिलाई सही मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिए। उनले पत्रकारहरू मानसिक रूपमा स्वतन्त्र हुन नसकेको र महासंघको नेतृत्वले दलीय प्रभावलाई तोड्न नसक्दा पत्रकारहरूको वास्तविक हकहितका मुद्दाहरू ओझेलमा परेको टिप्पणी गरे। महासंघले पत्रकारमुखीभन्दा पनि राजनीतिमुखी कार्यक्रमहरूलाई बढी प्राथमिकता दिएको भन्दै उनले यसतर्फ सबैलाई सजग हुन आग्रह गरे।
अहिलेको सामाजिक सञ्जालको युगमा पत्रकारिताको शैलीलाई पुनरावलोकन र परिमार्जन (रिभ्यू र रिभिजन) गर्ने समय आएको उनले बताए। महासंघले अबका दिनमा पत्रकारहरूको वृत्ति विकास, छात्रवृत्ति र क्षमता अभिवृद्धि जस्ता रचनात्मक कार्यमा विशेष ध्यान दिनुपर्ने सुझाव समेत उनले दिएका छन्।