ओलीको रिहाइ माग्दै एमाले आज ७७ वटै प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै
माइतीघरदेखि प्रशासनसम्म विरोध जुलुस
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
795
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित बनेको एमालेले आज देशव्यापी आन्दोलनको घोषणा गरेको छ। 'जेन-जी' आन्दोलन दमन सम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओलीलाई हिजो भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो।
एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार, काठमाडौँमा आज माइतीघर मण्डलमा ठूलो संख्यामा कार्यकर्ताहरू भेला हुनेछन्। त्यहाँबाट नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ। हिजो पनि एमाले निकटका जनसंगठनहरूले माइतीघरदेखि बानेश्वरसम्म मशाल जुलुस र विरोध प्रदर्शन गरेका थिए।
सडक आन्दोलनसँगै एमालेले कानुनी मोर्चामा पनि तयारी तीव्र पारेको छ। प्रेस चौतारी नेपालको आयोजनामा आज बिहान १०:३० बजे पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा कानुनविद्हरूसँग अन्तर्संवाद कार्यक्रम राखिएको छ। यस कार्यक्रममा ओलीको गिरफ्तारीको कानुनी आधार र अदालतमा गरिने प्रतिरक्षाबारे छलफल हुनेछ।
यसैबीच, अध्यक्ष ओलीलाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने प्रहरीको तयारी छ। पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएका ओली हाल अस्पतालमा उपचाररत छन् भने अर्का पक्राउ परेका नेता रमेश लेखकलाई महाराजगन्जमा राखिएको छ। एमालेले यो गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल बिनासर्त रिहाइको माग गरिरहेको छ।