बीपी राजमार्गमा फेरि रोशीको वितण्डा: चार किलोमिटर सडक बगायो
एक कर्मचारीको ज्यान गयो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
663
Shares
तस्बिर फाइल
काठमाडौँ । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गको अस्थायी सडक (डाइभर्सन) बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब ४ किलोमिटर डाइभर्सन सडक बगाएको हो।
यस दुखद घटनामा रोशी गाउँपालिका–७ का ४० वर्षीय कुन्साङ तामाङको मृत्यु भएको छ। उनी राजमार्ग निर्माण कार्यमा सुपरभाइजरका रूपमा कार्यरत थिए। बाढीमा फसेका अन्य ७ जनाको भने प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीले एक इलेक्ट्रिक गाडी र एउटा मोटरसाइकल समेत बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार शनिबार दिनभर सडक विभाग र प्रहरीको टोलीले डाइभर्सन बनाउने प्रयास गरे पनि निरन्तरको वर्षाले काम गर्न कठिन भएको छ। "खोलाको बहाव नघटेसम्म अस्थायी सडक बनाउन सकिने अवस्था छैन," उनले भने। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार स्थायी रूपमा निर्माण भइरहेका संरचनामा क्षति नपुगे पनि पुराना बाढीग्रस्त क्षेत्रमा बनाइएका अस्थायी बाटाहरू लेदो र पहिरोले पुरिएका छन्।
राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले धुलिखेलको काभ्रेभन्ज्याङ, भकुण्डेबेसी तथा सिन्धुलीतर्फको नेपालथोक र मंगलटारमा सवारीसाधनहरू रोकेको छ। शनिबार रातिदेखि राजमार्ग नखुलेसम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। मौसम सफा भएमा र खोलाको सतह घटेमा आइतबार बिहानैदेखि पुनः डाइभर्सन निर्माण सुरु गरिने बताइएको छ।
गत वर्ष असोजको बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको यो सडकखण्डमा अहिलेसम्म अस्थायी ट्रयाककै भरमा यातायात सञ्चालन हुँदै आएको थियो।