आइतबार देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
807
Shares
तस्बिर : फाइल
काठमाडौँ । शनिबार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा शनिबार केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले मुलुकका अधिकांश स्थानमा ३० देखि ४५ मिलिमिटरसम्म वर्षा भएको जनाउँदै पूर्वमा सबैभन्दा बढी वर्षा भएको जानकारी दिए ।
काठमाडौँमा पनि साँझ हल्का वर्षा भएको उल्लेख गर्दै उनले वर्षा मापन केन्द्रमा २० मिलिमिटरभन्दा माथि वर्षा मापन गरिएको जानकारी दिए ।
विभागका सूचना अधिकारी कायस्थले विस्तारै वर्षा कम हुँदै गएको भन्दै आइतबार भने मौसममा बदली कायम रहने जानकारी दिए । वर्षा भने तुलनात्मक रूपमा कम हुँदै जाने उनको भनाइ छ ।
विभागका अनुसार अहिले पनि पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । विभगाले साँझ जारी गरेको मौसम बुलेटिनमा आइतबार देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
सोही कारणले देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
त्यसपछि विस्तारै वर्षा कम हुँदै जाने छ । तर कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उनले बताए । हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमित जसो वर्षा भइरहेको छ ।