एमालेको त्रिपक्षीय प्रतिवाद: सदन, सडक र न्यायालयबाट सरकारको ‘प्रतिशोध’ विरुद्ध लड्ने घोषणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
961
Shares
काठमाडौँ। नेकपा (एमाले) ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई गैरकानूनी र गैरसंवैधानिक ठहर गर्दै यसको तीनवटै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। शनिबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव योगेश भट्टराईले एमालेले अब संसद, सडक र न्यायालयबाट सरकारको कदमको विरोध गर्ने बताए।
भट्टराईले एमाले एक जिम्मेवार राजनीतिक दल भएकोले आफ्ना सबै विरोधका कार्यक्रमहरू संयमित र संवैधानिक सीमाभित्रै रहने स्पष्ट पारे। "हामीलाई संविधान र न्यायालयप्रति पूर्ण विश्वास छ," उनले भने, "सरकारले प्राप्त जनमतको दुरुपयोग नगरोस्। प्रतिशोध र आवेगले समस्या सुल्झाउँदैन, यसले झन् द्वन्द्वको आगो मात्र बाल्नेछ।"
उपमहासचिव भट्टराईले 'जेन–जी' आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई पूर्ण रूपमा अस्वीकार गर्ने बताए। उनले उक्त प्रतिवेदन त्रुटिपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा नयाँ न्यायिक छानबिन समिति गठन गर्न माग गरे।
"कार्की आयोगको प्रतिशोधपूर्ण प्रतिवेदनलाई एमालेले मात्र होइन, पूरै देशले नै अस्वीकार गरिसकेको छ," भट्टराईले थपे, "यदि बहालवाला न्यायाधीशको नेतृत्वमा निष्पक्ष समिति बन्छ भने त्यसबाट आउने निष्कर्ष मान्न हामी तयार छौँ।" उनले सरकारलाई जनमतको कदर गर्दै राजनीतिक पूर्वाग्रह त्याग्न र मुठभेडको बाटो नहिँड्न समेत चेतावनी दिएका छन्।