ओली पक्राउपछि एमालेले गर्यो यस्तो निर्णय [भिडियो]
एमालेद्वारा ‘प्रतिशोधपूर्ण’ ठहर, भोलि देशभर प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
1k
Shares
काठमाडौँ। नेकपा (एमाले) ले आफ्ना पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण र गैरकानूनी’ ठहर गरेको छ। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सरकारको यो कदम लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गरे। एमालेले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको दाबी गर्दै यस घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
गिरफ्तारीको विरोधमा एमालेले भोलि चैत १५ गते आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेको छ। पार्टी सम्बद्ध जनसंगठनहरूले आजैबाट विरोध प्रदर्शन सुरु गर्ने महासचिव पोखरेलले जानकारी दिए। राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायलाई लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि एकजुट हुन समेत एमालेले आह्वान गरेको छ।
एमालेले यो परिस्थितिमा अन्य राजनीतिक दलहरूसँग संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई सुम्पेको छ। त्यस्तै, अर्का उपाध्यक्ष गोकर्ण विष्टले कानूनविद्हरूसँग परामर्श गरी कानूनी लडाइँको संयोजन गर्नेछन्। पार्टीले अध्यक्ष ओलीको गिरफ्तारीले संविधान र लोकतन्त्र पक्षधरहरूलाई चिन्तित तुल्याएको उल्लेख गर्दै यसको दृढताका साथ राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिएको छ। एमालेले आफ्ना समस्त कार्यकर्तालाई विचलित नभई एकताका साथ अगाडि बढ्न समेत आग्रह गरेको छ।