केपी ओली र रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि अस्पताल लगियो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
3k
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट ओली र लेखकको स्वास्थ्य परीक्षणको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान भक्तपुरको गुन्डुबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो ।
प्रहरीले नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगेको बताइएको छ । अस्पतालबाट ल्याएर उनीहरूलाई हिरासतमा राखिनेछ ।
शुक्रबार वालेन्द्र साह बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
उनीहरूलाई जेन–जी आन्दोलनमा एकैदिन १९ जना जेन–जी आन्दोलनकारीमाथि गोली हानेर मार्न निर्देशन दिएको आरोप छ ।