काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो छ महिने कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै पदबाट बिदा लिएकी छन्। फागुन २१ गते सम्पन्न ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनको परिणाम आएसँगै उनले नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बाटो प्रशस्त गरेकी हुन्।
भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ पछिको जटिल र चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी सम्हालेकी कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो मुख्य लक्ष्य निर्धारित समयमै निर्वाचन गराउनु रहेको र त्यसमा सफल भएको बताइन्।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते तोकिएकै मितिमा शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न हुनुलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा चित्रण गरिन्। यस कार्यमा अहोरात्र खटिने निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको उनले उच्च प्रशंसा गरिन्।
छोटो समयको कार्यकाल भए पनि आफ्नो सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध ऐतिहासिक कदम चालेको दाबी कार्कीले गरिन्। उनले अख्तियार र सीआईबीलाई व्यावसायिक स्वतन्त्रता दिएकै कारण वर्षौँदेखि गुपचुप राखिएका भ्रष्टाचारका ठूला मुद्दाहरू अगाडि बढेको उल्लेख गरिन्। यस्तै, ठेक्का लिएर काम नगर्ने 'ठेकदार' र बिजुलीको महसुल नतिर्नेहरूमाथि सुरु गरिएको कारबाहीले राज्यको प्रणालीमा सुधारको सङ्केत दिएको उनको भनाइ छ।
२०८२ मंसिर २४ गते आन्दोलनकारीहरूसँग भएको ऐतिहासिक सम्झौता कार्यान्वयनका लागि बलियो आधारशिला तयार पारिएको प्रधानमन्त्रीले जानकारी दिइन्। आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उनले बताइन्।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाई दिँदै उनले अब बन्ने युवा नेतृत्वको सरकारले सुशासन, रोजगारी सिर्जना र आर्थिक विकासमा नतिजामुखी काम गर्ने विश्वास व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले नयाँ सरकारलाई स्वागत गर्न आफू आतुर रहेको र देशको भविष्य उज्यालो देखिरहेको बताउँदै सम्बोधन अन्त्य गरिन्।