रेश्मिका परियार हत्या प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
728
Shares
काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि भएको हत्या घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गरेका हुन्।
गत भदौ ३० गते अजम्बरी साना किसान कृषि सहकारी संस्थाबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनको रमिते भन्ने स्थानमा रेश्मिकाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको र प्रारम्भिक प्रमाणहरूले सामूहिक बलात्कारपछि हत्या भएको देखाउँदा समेत अभियुक्तहरू पक्राउ नपरेकोमा अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन्।
संयुक्त दलित सङ्घर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालका अनुसार घटनामा संलग्न व्यक्तिहरू समाजमा खुलेआम हिँडिरहेकाले पीडित परिवारले असुरक्षा महसुस गरिरहेका छन्। ज्ञापनपत्रमार्फत परिवारलाई तत्काल शान्ति सुरक्षा प्रदान गर्न र कुनै पनि राजनीतिक वा प्रशासनिक दबाबबिना सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ।
दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले यस जघन्य अपराधको सूक्ष्म अनुसन्धानका लागि उच्चस्तरीय समिति आवश्यक रहेको बताइन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले ज्ञापनपत्र प्राप्त भएको र यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइने जानकारी दिए।