पोखराको धनुष सहकारीमा साढे १२ करोड हिनामिना, प्रहरीले अघि बढायो अनुसन्धान
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
865
Shares
पोखरा। बचतकर्ताको ठूलो रकम हिनामिनाको आरोप लागेपछि पोखराको अर्को सहकारी अनुसन्धानमा तानिएको छ। पोखरा महानगरपालिका-९ सामसुङ गल्लीस्थित धनुष बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको रकम फिर्ता नगरिएको भन्दै प्रहरी छानबिनमा जुटेको हो।
कास्की प्रहरीका अनुसार सहकारीका व्यवस्थापक र विभिन्न समयमा रहेका सञ्चालक समिति सदस्यहरूले बचतकर्ताको रकम फिर्ता नगरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको हो।
सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेशबाट चैत ८ गते प्राप्त कागजातका आधारमा सहकारी ऐन, २०७४ बमोजिम मुद्दा दर्ता गरी छानबिन शुरू गरिएको छ।
अनुसन्धानलाई तीव्र बनाउँदै प्रहरीले हालसम्म तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सहकारीका सचिव विराज सुवेदी, व्यवस्थापक जगत पौडेल र ऋण उपसमितिका सदस्य कृष्णबहादुर जैसी छन्। उनीहरूमाथि करिब १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।
प्रहरीले सबै पीडितलाई आफ्नो रकम दाबी गर्न आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ।
शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट वा मुद्दती प्रमाणपत्र जस्ता कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने बताइएको छ।
साथै, परिचय खुल्ने नागरिकताको प्रतिलिपिसहित सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त दिन पनि अनुरोध गरिएको छ।
मुद्दाको हदम्यादलाई ध्यानमा राख्दै चैत २५ गतेभित्र अनिवार्य रूपमा उजुरी दर्ता गर्न प्रहरीले विशेष आग्रह गरेको छ।
प्रहरीले बचतकर्तालाई मात्र होइन, सहकारीबाट ऋण लिएर हालसम्म नतिर्ने ऋणीहरूलाई पनि सचेत गराएको छ।
त्यस्ता ऋणिहरूले तत्काल प्रहरीको सम्पर्कमा आई निर्धारण गरिएको रकम सहकारीको खातामा जम्मा गरी प्रमाण बुझाउनुपर्नेछ, अन्यथा कानूनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिइएको छ।