arrow

जेन–जी आन्दोलन: सुरक्षामा चुकेको भन्दै सेनाका चार कमान्डरलाई कारबाही सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
nepal-army-hq.jpg

काठमाडौँ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’ ले मुलुकका अति विशिष्ट र संवेदनशील क्षेत्रहरूको सुरक्षामा गम्भीर लापरबाही गरेको ठहर गर्दै नेपाली सेनाका चार जना कमान्डरहरूलाई कारबाहीका लागि सिफारिस गरेको छ। भदौ २३ र २४ गतेका घटनामा तोकिएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै आयोगले चार छुट्टाछुट्टै स्थानमा खटिएका टोली प्रमुखहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुझाएको हो।

आयोगको प्रतिवेदन अनुसार कारबाही सिफारिसमा पर्नेहरूमा राष्ट्रपति भवन शीतल निवासको सुरक्षा टोली प्रमुख सहायक रथी मनोज बैदवार, प्रधानमन्त्री निवास बालुवाटारको सुरक्षा प्रमुख प्रमुख सेनानी दिवाकर खड्का, र सिंहदरबार सचिवालयको सुरक्षाको जिम्मा पाएका प्रमुख सेनानी गणेश खड्का रहेका छन्। प्रमुख सेनानी गणेश खड्का जिल्ला सुरक्षा समितिको सदस्य समेत रहेका थिए। त्यसैगरी, बानेश्वरस्थित संघीय संसद् भवन र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरको सुरक्षा टोली प्रमुख सेनानी सन्तोष ढुङ्गेललाई पनि आयोगले कारबाहीका लागि सिफारिस गरेको छ।

आयोगले यी चारै प्रमुख स्थलहरूको सुरक्षा गर्न असफल भएकोमा ती परिसरमा खटिएका कमान्डरहरू उपर सैनिक ऐन, २०६३ को दफा १०५ आकर्षित हुने स्पष्ट पारेको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार सुरक्षाको मुख्य जिम्मेवारी लिएका कमान्डरहरूले आफ्नो कर्तव्य पूरा नगरेकाले उनीहरूविरुद्ध सैनिक ऐनअनुसार कारबाही हुनुपर्ने देखिएको हो। यसअघि नै आयोगले यी क्षेत्रहरूमा भएको तोडफोड र आगजनीका क्रममा सेनाको भूमिका निष्क्रिय रहेको भन्दै प्रश्न उठाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ