arrow

छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की [भिडियो]

जेन–जी आन्दोलनपछिको चुनौतीपूर्ण निर्वाचन सफल हुनु ऐतिहासिक उपलब्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
sushila-karki-12-11.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको एक असाधारण र ऐतिहासिक उपलब्धिको रूपमा चित्रण गरेकी छन्। बुधबार निर्वाचन आयोगद्वारा आयोजित जलपान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले 'जेन–जी' आन्दोलनपछिको असामान्य स्थितिलाई सामान्यीकरण गर्दै सफलतापूर्वक निर्वाचन गराउन सकेको बताइन्।

राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनुले संवैधानिक प्रणालीलाई थप सुदृढ बनाएको प्रधानमन्त्रीको दाबी छ। सरकार गठन हुँदाको चुनौतीपूर्ण अवस्था स्मरण गर्दै उनले देशमा सुरक्षा संवेदनशीलता, राजनीतिक संवादहीनता र कानुनी–राजनीतिक शून्यता रहेको बेला ६ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज नभएको उल्लेख गरे। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले देखाएको व्यावसायिक दक्षता र सरकारको पूर्ण स्रोत परिचालनका कारण यो सफलता सम्भव भएको उनले बताइन्।

प्रधानमन्त्री कार्कीका अनुसार यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ विश्वव्यापी मानक स्थापित गरेको छ। निर्वाचन घोषणापछि पनि ठूलो सङ्ख्यामा युवा मतदाता समेटिनु र राष्ट्रिय परिचयपत्रको तथ्याङ्कलाई निर्वाचन प्रणालीसँग आबद्ध गरिनुलाई उनले नवीन अभ्यासका रूपमा अर्थ्याइन्। सरकारी संयन्त्रमार्फत पारदर्शी खरिद प्रक्रिया र पुराना सामग्रीको पुनः प्रयोगले निर्वाचन खर्च नियन्त्रणमा ऐतिहासिक उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ।

आचारसंहिताको कडा निगरानी र सुदृढ सुरक्षा व्यवस्थाका कारण यसपटक कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको प्रधानमन्त्रीले बताइन्। निर्वाचनमार्फत आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गर्दै उनले यस कार्यमा सहयोग गर्ने सुरक्षाकर्मी, निर्वाचन आयोग र अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए। यस निर्वाचनले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको र नयाँ राजनीतिक अध्यायको ढोका खोलेको उनको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ