arrow

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
tuberculosis.jpg

काठमाडौँ । चालु आर्थिक वर्षको साउनयता चितवन जिल्लामा ६२३ जना नयाँ क्षयरोगी पहिचान भएका छन्। जनस्वास्थ्य कार्यालयका अनुसार ५ हजार ३८२ जनाको नियमित परीक्षण गर्दा यति ठूलो संख्यामा संक्रमण देखिएको हो। पहिचान भएका बिरामीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका रहेका छन्, जसमा ४ वर्षमुनिका ४ जना समेत रहेको क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले बताए।

कुल संक्रमितमध्ये ३३६ जनामा सर्ने र २८७ जनामा नसर्ने खालको क्षयरोग भेटिएको छ। विशेष चिन्ताको विषय त के छ भने, ७ जना बिरामीमा सामान्य औषधिले काम नगर्ने कडा खालको क्षयरोग देखिएको छ। लैंगिक आधारमा हेर्दा पुरुषको संख्या बढी छ, जसमा ३८८ पुरुष र २३५ महिला संक्रमित रहेका छन्। जिल्लाका १०७ वटा स्वास्थ्य संस्थाबाट बिरामीले नियमित औषधि सेवन गरिरहेको कार्यालयले बताए।

क्षयरोग पुष्टि गर्न जिल्लामा २८ वटा माइक्रोस्कोपिक केन्द्र र ४ वटा 'जिन एक्स्पर्ट' मेसिन सञ्चालनमा छन्। माइक्रोस्कोपबाट परीक्षण गरिएका ३ हजार ८१ जनामध्ये १४३ जना र अत्याधुनिक जिन एक्स्पर्ट प्रविधिबाट २ हजार ३०१ जनाको परीक्षण गर्दा ३०७ जनामा संक्रमण पुष्टि भएको अधिकृत दुवाडीले बताए। गत आर्थिक वर्षमा जिल्लामा १ हजार ८९ जना संक्रमित भेटिएका थिए भने २२ जनाको मृत्यु भएको थियो।

'माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस' नामक जीवाणुबाट लाग्ने यो रोगमा सुरुवाती अवस्थामा थकान र कमजोरी महसुस हुने गर्छ। लगातार रुघाखोकी लाग्नु, ज्वरो आउनु र विशेषगरी दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण भएको स्वास्थ्यकर्मीहरूले बताए। यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन र ६ देखि ८ महिनासम्म नियमित निःशुल्क औषधि सेवन गर्न उनीहरूले सुझाव दिएका छन्। रोग निको पार्न सुर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थबाट टाढै रहनुपर्ने अधिकृत दुवाडीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ