काठमाडौँ चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज भन्सार कार्यालय हुँदै १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष इन्धनको आयात बढेको वीरगन्ज भन्सार कार्यालयले बताए।
इन्धन आयातबाट सरकारले उल्लेख्य राजस्व समेत संकलन गरेको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व प्राप्त भएको भन्सार कार्यालयले बताए। आयातित इन्धनमध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ। तथ्याङ्क अनुसार ७ लाख २ हजार ३०० किलोलिटर डिजेल आयात गर्दा ६३ अर्ब ६५ करोड रुपैयाँ बाहिरिएको छ।
त्यसैगरी, २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयातका लागि २५ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ भने २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम खाना पकाउने ग्यास (एलपी ग्यास) आयात गर्न २० अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। इन्धनको बढ्दो खपत र आयातले मुलुकको व्यापार घाटामा समेत प्रभाव पारेको देखिन्छ।