राखेपको राजनीतिक स्वार्थले फुटबल धराशायी बन्यो, दुई करोड लगानी जोखिममा: संकटा क्लब
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
4.7k
Shares
काठमाडौँ । संकटा फुटबल क्लबले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को राजनीतिक स्वार्थका कारण नेपाली फुटबल धराशायी बन्दै गएको गम्भीर आरोप लगाएको छ। विदेशी खेलाडीको श्रम स्वीकृति प्रक्रियामा राखेपले अवरोध सिर्जना गर्दा घरेलु फुटबल ठप्प भएको भन्दै क्लबले आक्रोश व्यक्त गरेको हो।
अध्यागमन विभागले श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाएको भन्दै सहिद स्मारक महिला लिग र राष्ट्रिय लिग रोक्न निर्देशन दिएपछि अहिले नेपालको फुटबल गतिविधि ठप्प छ। संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले विगत दुई महिनादेखि श्रम स्वीकृतिका लागि आवश्यक कागजात पेस गरे पनि राखेपले विभिन्न बहानामा सिफारिस रोकेको बताए।
संकटाले महिला र पुरुष दुवै टोली निर्माणका लागि झन्डै २ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ। राखेपकै ढिलासुस्तीका कारण यो लगानी बालुवामा पानी हालेझैँ हुन लागेको अध्यक्ष तुलाधरको भनाइ छ। उनले भने, “अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको रिसइबी क्लबमाथि थोपरेर राखेपले अन्याय गरिरहेको छ।”
विदेशी खेलाडीहरूले ‘के हामी पक्राउ पर्ने हौँ?’ भन्दै प्रश्न गर्ने गरेको र उनीहरूलाई जवाफ दिन गाह्रो भएको क्लबले उल्लेख गरेको छ। यदि आगामी दुई हप्ताभित्र लिग सञ्चालन नभए क्लबले सबै स्वदेशी तथा विदेशी खेलाडीलाई रिलिज गर्ने चेतावनीसमेत दिएको छ।
अध्यक्ष तुलाधरले श्रम स्वीकृतिको सिफारिस लिन जाँदा खेलकुद मन्त्रालयका सचिवले दुर्व्यवहार गरेको र विदेशी खेलाडीमाथि ‘रङ्गभेदी टिप्पणी’ गरेको खुलासा गरेका छन्। राखेपका संघ-संस्था प्रमुखले पनि काम गर्नुको साटो झुलाउने काम मात्र गरेको उनको आरोप छ।
संकटा महिला टोलीकी कप्तान यशोदा शाही ठकुरीले लामो समयदेखिको मिहिनेत खेर जान लागेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले भनिन्, “विदेशी साथीहरूले कहिले खेल सुरु हुन्छ भनेर सोध्छन्, हामीसँग कुनै जवाफ छैन।” यस्तै, पुरुष टोलीका कप्तान टिकेन्द्र थापाले पनि खेल छिटो सुरु हुने वातावरण बनाउन सरोकारवालासँग अपिल गरेका छन्।
प्रशिक्षक रवीन्द्र सिलाकारले राज्यले नै खेलकुदमा अवरोध पुर्याउनुले नेपाली फुटबल अन्धकारतर्फ धकेलिने सङ्केत गरेको बताए। आफ्नै एकेडेमी र मैदान भएको संकटा क्लबले पछिल्लो समय नेपाली फुटबलमा ठूलो लगानी गर्दै आएको छ, जुन अहिले राखेप र एन्फाबीचको विवादको चेपुवामा परेको छ।