नयाँ मन्त्रीको पर्खाइमा सिंहदरबार: मन्त्रालयहरू चिटिक्क, कर्मचारीमा उत्साह
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
823
Shares
काठमाडौँ । सङ्घीय संसद्का नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गतेका लागि तय भएसँगै सिंहदरबारभित्र नयाँ सरकारको स्वागतका लागि व्यापक तयारी सुरु भएको छ। वसन्त ऋतुको आगमनसँगै ढकमक्क फुलेका फूलहरू र मन्त्रालयहरूमा गरिएको नयाँ सजावटले सिंहदरबारको रौनक फेरिएको छ।
प्रायः सबै मन्त्रालयका मूल गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ र फूलका गमलाहरू राखेर हरियाली बनाइएको छ। कर्मचारीहरू नयाँ मन्त्रीको कार्यकक्ष व्यवस्थापन र रङ्गरोगनमा व्यस्त देखिन्छन्।
गत भदौमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा क्षति पुगेका मन्त्रालयहरू यसै मेसोमा पुरानै स्वरूपमा फर्किएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार आन्दोलनका बेला जलेका टेलिफोनका तारहरू व्यवस्थित गरिएको छ र मन्त्रालयलाई नयाँ मन्त्रीको स्वागतका लागि ‘चिरिच्याट्ट’ पारिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्षतिग्रस्त अघिल्लो भाग पनि पेन्टिङ गरेर तयार पारिएको छ। यता, पूर्ण रूपमा क्षति भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने अझै अस्थायी टहराबाटै सञ्चालन भइरहेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बजेट निर्माणको समय नजिकिँदै गर्दा नयाँ मन्त्री छिटो आए काम गर्न सहज हुने बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरका अनुसार मन्त्री नहुँदा नियमित प्रशासनिक काम बाहेकका नीतिगत निर्णयहरू प्रभावित भएका छन्। “मन्त्री हुँदा पब्लिक चहलपहल हुन्थ्यो, अहिले सुनसान जस्तै छ,” उनले भने, “हामी मन्त्रीको प्रतीक्षामा कार्यालय र कर्मचारी दुवै तयार अवस्थामा छौँ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आफ्नो भौतिक संरचना पूर्ण तयार रहेकाले विशेष तयारी आवश्यक नरहेको र केवल नीतिगत सम्पादनका लागि मन्त्रीको बाटो हेरिरहेको बताएको छ।
आगामी साताभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावनासँगै सिंहदरबारका कर्मचारीहरू नयाँ कार्यशैली र ऊर्जाका साथ सेवा दिन उत्साहित देखिएका छन्।