arrow

सूर्यविनायक–धुलिखेल सडक विस्तार: दुई तिहाइ काम सम्पन्न

थपिएको समयभित्रै सक्ने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
dhulikhel-road.jpg

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म भइरहेको छ लेन सडक विस्तार कार्यले गति लिएको छ। तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस सडक विस्तार आयोजनामा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार थपिएको समयावधिभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साविकको दुई लेन सडकलाई छ लेनमा विस्तार गरिँदै छ, जसमा सडकको दायाँबायाँ दुई सर्भिस लेन र २.५ मिटरको फुटपाथ समेत निर्माण भइरहेको छ। पहिलो चरणको म्याद सकिएपछि गत मङ्सिरमा आयोजनाको अवधि पुनः एक वर्षका लागि थप गरिएको थियो।

सडक विस्तारलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ। आठ किलोमिटर लामो साँगा–धुलिखेल खण्डको म्याद गत मङ्सिरमा सकिए पनि हालसम्म ६० प्रतिशत काम मात्रै सकिएको छ। लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा जिम्मा लिएको यस खण्डमा पिचबाहेकको भौतिक प्रगति भने ९० प्रतिशत पुगेको निर्माण कम्पनीका प्रबन्धक रवीन्द्र श्रेष्ठले बताए।

दोस्रो खण्डका रूपमा रहेको सूर्यविनायक–साँगा (७.५ किलोमिटर) मा भने ५५ प्रतिशत काम सम्पन्न भएको छ। यसअघि 'सेन्टर लाइन' को विवादले डेढ वर्षदेखि रोकिएको पलुबजार क्षेत्रमा गत मङ्सिरदेखि पुनः काम सुरु गरिएको थियो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी, बुडोल र बनेपा बजार क्षेत्रमा अहिले तीव्र गतिमा काम भइरहेको छ। ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ लागतको यस खण्डमा हाल टेवा पर्खाल, नाली र कल्भर्ट निर्माणका कार्यहरू भइरहेका छन्।

यस सडकखण्डमा पर्ने तीनवटा पुलमध्ये महादेव खोलाको पुल निर्माण भइरहेको छ। अन्य दुई पुलको हकमा भने स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राखी अवरोध गरेपछि डिजाइन प्रक्रियामा केही ढिलाइ भएको सिनियर डिभिजनल इन्जिनियर अन्जु परियारले बताइन्। हाल ती समस्या समाधान भई डिजाइन समेत स्वीकृत भइसकेकाले चाँडै पुल निर्माण सुरु हुने उनको भनाइ छ।

चीनसँगको तातोपानी नाका सहज बनेपछि यस राजमार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ। हाल कोटेश्वरबाट मात्रै दैनिक २ हजार ५ सयभन्दा बढी सवारी साधन छुट्ने गरेका छन्। सडक विस्तार सम्पन्न भएपछि काठमाडौँ उपत्यकाबाट पूर्वी नेपाल र चीन जोड्ने यात्रा अझ सहज र सुरक्षित हुने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ