जुम्लामा उडान ठप्प पारेपछि आक्रोशित यात्रुले गरे कार्यालयमा तालाबन्दी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
778
Shares
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले लामो समयदेखि नियमित उडान नगरेको भन्दै आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरेका छन्। फागुन २४ गतेदेखि जहाज नआएपछि आजित भएका सर्वसाधारण र यात्रुहरूले विरोधस्वरूप कार्यालयमा ताला लगाएका हुन्।
निगमले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लाको हकमा भने 'उडान हुन्छ' भन्दै बारम्बार झुक्याउने गरेको यात्रुहरूको आरोप छ। आइतबार उडान हुने निश्चित जानकारी पाएर विमानस्थल पुगेका यात्रुहरू अन्तिम समयमा पुनः उडान रद्द भएको सूचना पाएपछि आन्दोलित भएका हुन्।
नियमित उडान नहुँदा सबैभन्दा बढी सास्ती बिरामीहरूले खेप्नुपरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि बाहिर 'रेफर' गरिएका गम्भीर बिरामीहरू जहाज कुरेर छटपटाइरहँदा समेत निगमले संवेदनशीलता नदेखाएको यात्रुहरूले गुनासो गरे।
“अन्य जिल्लामा उडान भइरहेको छ, तर जुम्लामा सधैँ प्राविधिक कारण देखाएर उडान रद्द गरिन्छ,” एक आक्रोशित यात्रुले भने, “बिरामीको ज्यान जोखिममा छ, यस्तो अवस्थामा पनि सरकारी जहाजले जिम्मेवारी पूरा नगरेपछि हामी तालाबन्दी गर्न बाध्य भयौँ।”
लामो समयदेखि सरकारी जहाजले उडान नभर्दा जुम्लावासीले निकै सास्ती खेप्नुपरेको छ। निगमले तत्काल नियमित उडानको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने यात्रुहरूले चेतावनी दिएका छन्। यसबारे निगमको स्थानीय कार्यालयले भने केन्द्रबाटै जहाज व्यवस्थापनमा समस्या भएको बताउँदै आएको छ।