काठमाडौँ । लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी वैशाख २० र २१ गते १२औँ महाधिवेशन गर्ने मिति तय गरेको छ। नेविसंघ सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वबाट समयमै विधान नपाउँदा महाधिवेशन ढिलाइ भएको खुलासा गरेका छन्।
उनका अनुसार ३२ वर्षे उमेर हद लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको करिब एक वर्ष पुग्न लाग्दा पनि त्यो विधान फिर्ता नआएको बताए। “यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ अगावै महाधिवेशन सम्पन्न भइसक्थ्यो,” उनले भने।
सभापति शेर्पाले आफूले कार्यकालकै बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वसमक्ष राजीनामा पेश गरेको तर ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्ने निर्देशनका कारण रोकिनुपरेको बताए।
उनले स्ववियु निर्वाचनपछि समेत नेतृत्वलाई राजीनामा दिने प्रयास गरेको तर पुनः जिम्मेवारी दिएर चुनाव गराउन लगाइएको उल्लेख गरे।
महाधिवेशन खर्चिलो हुने भन्ने धारणा गलत रहेको दाबी गर्दै उनले कम खर्चमै भव्य अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए। विश्वभर रहेका नेविसंघका पूर्व सदस्यबाट पारदर्शी ढंगले कोष संकलन गरिने र पार्टीबाट आर्थिक सहयोग नलिइने उनले स्पष्ट पारे।
सभापति शेर्पाले अब विद्यार्थीले आफ्नै नेता र नीति आफैं छनोट गर्ने वातावरण बन्न लागेको दाबी गर्दै भने, “अब हामी अधिवेशनबाट भाग्ने छुट छैन, विद्यार्थीहरूले आफ्नै नेतृत्व आफैं बनाउनेछन्।”
उनले पार्टीभित्र अनुशासन कायम गर्न ढिलाइ भएको पनि स्वीकार गरे। अनुशासन समिति गठन गर्न झण्डै तीन वर्ष लागेको उल्लेख गर्दै उनले बागी उम्मेदवारी र आन्तरिक विवाद व्यवस्थापनमा चुनौती रहेको बताए।
यसैबीच, शेर्पाले अब विद्यार्थी नेताहरूले ठूला नेताहरूको ‘झोला बोक्ने’ दिन सकिएको भन्दै स्वतन्त्र र जिम्मेवार विद्यार्थी नेतृत्व विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।