arrow

रणमैदान बन्यो हरि खेतान क्याम्पस

१६ बुँदे माग र आन्तरिक कलहले शैक्षिक संस्था अस्तव्यस्त, परीक्षा रद्द भएपछि टायर बालेर प्रदर्शन, प्रहरीसँग ठेलमठेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
khetan-college.jpg

काठमाडौँ । वीरगन्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ। क्याम्पस सञ्चालक समिति र प्राध्यापक सङ्घबीचको आन्तरिक शक्ति सङ्घर्षका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको हो।

सोमबारदेखि सुरु हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन्। परीक्षा दिन क्याम्पस पुगेका ३ हजारभन्दा बढी विद्यार्थीहरू प्रशासनले ‘परीक्षा स्थगित’ को सूचना टाँसेपछि छाँगाबाट खसेझैँ भएका थिए।

कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गैरजिम्मेवारीपन विरुद्ध विद्यार्थीहरूले क्याम्पसको मूलढोकामा धर्ना दिँदै नाराबाजी गरे। “हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन, आन्तरिक झगडाले परीक्षा रोक्न पाइँदैन” भन्दै विद्यार्थीहरूले विरोध र्‍याली निकालेका छन्।

क्याम्पसबाट निस्किएको विद्यार्थीहरूको समूहले वीरगन्जको मुटु मानिने घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेपछि यातायात पूर्णतः ठप्प बन्यो। स्थिति नियन्त्रण बाहिर जान लागेपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनका क्रममा आक्रोशित भिडले तोडफोडको प्रयास गरेपछि प्रहरी र विद्यार्थीबीच ठेलमठेल भएको थियो भने प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको छ।

प्राध्यापक दिलीप कुमारका अनुसार प्राध्यापक सङ्घले विभिन्न १६ बुँदे माग राख्दै गत फागुन ३ गते नै सञ्चालक समितिलाई पत्र बुझाएको थियो। “हामीले ७ गतेसम्मको अल्टिमेटम दिएका थियौँ, तर व्यवस्थापनले चासो देखाएन,” उनले भने, “विवश भएर हामी आजदेखि अनिश्चितकालीन हडतालमा जानुपरेको हो।”

सञ्चालक समिति र प्राध्यापकहरूबीचको यो ‘अहङ्कारको लडाइँ’ ले बारा र पर्साका दुर्गम क्षेत्रबाट आएर अध्ययन गर्ने विद्यार्थीहरू प्रत्यक्ष मारमा परेका छन्। पटक–पटक हुने यस्ता प्रशासनिक विवादले क्याम्पसको शाखमा समेत गम्भीर धक्का पुगेको छ।

सामुदायिक क्याम्पसलाई राजनीतिक अखडा र व्यक्तिगत स्वार्थपूर्तिको थलो बनाइनु दुःखद भएको अभिभावकहरूको गुनासो छ। स्थानीय प्रशासन र शिक्षा विभागले समयमै हस्तक्षेप गरी विवाद समाधान नगरे हजारौँ विद्यार्थीको शैक्षिक सत्र बर्बाद हुने जोखिम बढेको छ। वीरगन्जको शैक्षिक वातावरण बिग्रन नदिन तत्काल संवादको पहल गर्नुपर्ने माग चौतर्फी रूपमा उठिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ