मध्यपूर्वको तनाव कम गर्न र समुद्री मार्ग सुरक्षित राख्न राष्ट्रसङ्घ तयार
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
2.1k
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न र रणनीतिक महत्त्वको होर्मुज जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताएका छन्।
महासचिव गुटेरेसले यसअघि राष्ट्रसङ्घले ‘ब्ल्याक सी’ मा सुरक्षा सुनिश्चित गरी अवस्था सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे। सोही प्रयासका कारण सन् २०२२ जुलाईमा मानवीय कोरिडोरमार्फत युक्रेनी खाद्यान्न निर्यात सम्भव भएको उनले उल्लेख गरे।
होर्मुजको जलक्षेत्रमा व्यापारिक जहाजहरूको सहज आवागमन र निर्यातको अवस्था सिर्जना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घले हाल खाडीका प्रमुख निकायहरूका साथै युरोपेली परिषद्सँग घनिष्ट समन्वय गरिरहेको महासचिव गुटेरेसले बताए।
उनले यस सन्दर्भमा राष्ट्रसङ्घ सहयोग गर्न इच्छुक र तत्पर रहेको जनाउँदै यस्ता सुरक्षा प्रयासहरू व्यवस्थापन गर्न संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग प्रत्यक्ष सहकार्यमा सक्रिय रहने पुष्टि गरेका छन्। इरान र इजरायलबीचको द्वन्द्वका कारण होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना भइरहेका बेला राष्ट्रसङ्घको यो सक्रियतालाई निकै महत्त्वका साथ हेरिएको छ।