काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्रीहरू सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श सुरु गरेको खबर सार्वजनिक भएको छ।
अमेरिकी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार इरानको आणविक भण्डारलाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने सम्भावित विकल्पहरूबारे उच्चस्तरीय छलफल भइरहेको छ।
यद्यपि कुनै पनि सैन्य वा विशेष अपरेसनबारे अन्तिम निर्णय भइनसकेको र यसको समयसीमा समेत स्पष्ट नभएको अधिकारीहरूले बताएका छन्।
सार्वजनिक रिपोर्टहरूका अनुसार, यो योजना मुख्यतया विशेष सैनिक (स्पेसल फोर्स) प्रयोग गरेर लक्षित 'सर्जिकल' अपरेसन सञ्चालन गर्ने सम्भावनामा केन्द्रित छ।
यस्तो अपरेसनमार्फत इरानका संवेदनशील क्षेत्रमा रहेका आणविक सामग्रीहरू कब्जा गर्ने वा तिनलाई सुरक्षित स्थानमा सार्ने विकल्पमा गहन छलफल भइरहेको जनाइएको छ।
यदि अमेरिकाले यस्तो साहसी र जोखिमपूर्ण अपरेसन अघि बढायो भने यसले इरानसँग प्रत्यक्ष सैन्य टकरावको खतरा निम्त्याउने निश्चित छ।
विश्लेषकहरूका अनुसार यस कदमले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल र भयावह बनाउने अनुमान गरिएको छ।
इरानले आफ्नो आणविक कार्यक्रमलाई अस्तित्वको लडाइँका रूपमा लिँदै आएकाले अमेरिकी हस्तक्षेपको कडा प्रतिवाद हुन सक्ने देखिन्छ।