arrow

गिरिजाबाबुको १६औँ स्मृति दिवस

गिरिजाबाबु, कू र जोडिएको साइनो

logo
प्रकाश पोख्रेल,
प्रकाशित २०८२ चैत ७ शनिबार
prakash-pokhrel-07-12.jpg.jpeg

जन्मेको मितिमा जन्मोत्सव मनाउने र मृत्यु पश्चात् आफ्नै रितिथितिअनुसार संस्मरण गर्ने परम्परा विश्वभर नै कायम छ। विश्वका अधिकतर आम सर्वसाधारणदेखि  युग पुरुषहरू र दार्शनिकहरूको जन्म र मृत्युको समयलाई विभिन्न तरिकाले संस्मरण गरेको पाइन्छ।  सर्वसाधारण नागरिकको हकमा मृत्यु पर्यन्त जन्मदिनलाई खासै स्मरण गरेको पाइँदैन तर मृत्यु भएको तिथिलाई  श्राद्ध वा  आ -आफ्नै रितिरिवाज अनुसार सस्मरण गरिँदै आएको पाइन्छ।  युगपुरुषहरूको भने जन्म र मृत्यु दुवै मितिमा स्मृतिको गाथा गाउने गरिन्छ। जीवित रहुन्जेल राम्रा गुणहरूलाई उजागर गर्दा चाकडीको आरोप खेप्ने डरले हो वा आग्रह पूर्वाग्रहले हो आलोचनाका शब्दहरू शब्दकोशबाटै रित्तिने गरी सत्तोसराप गर्ने तर मृत्यु प्रयन्त गुण गान र प्रसम्साका लागि सब्दकोस का सब्दहरू नै प्रयाप्त नहुने नियती बाट हाम्रो समाज अलग छैन।

गिरिजाप्रसाद कोइराला पनि त्यस्तो ब्यतित्व हुन् जसले आफ्नो जीवनकालभर कालो झण्डा र बिरोधको सामना गर्नु परिरह्यो तर मृत्यु प्रयन्त उनले जति प्रशंसा र सम्मान प्राप्त गर्ने अवसर सायदै ब्यक्तिलाई प्राप्त भए होला। माओवादी द्वन्द्वले आक्रान्त मुलुकमा माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराइ मुलुकमा  शान्ति स्थापना गरेकै कारण उनी एसियाकै एक कुशल  राजनेताको रुपमा स्थापित भए । 

सहमति, सहकार्य र एकताका हिमायती, निडर, निर्भिक तथा साहसिक पुरुष गिरिजाप्रसाद कोइरालाको नामलाई लोकतन्त्रकै पर्यायवाची शब्दको रूपमा व्याख्या गर्दा अत्युक्ति नहोला जस्तो लाग्छ। आफूले हारे पनि मुलुकले जित्नुपर्छ भन्ने दर्शनबाट प्रेरित कोइरालाले आफ्नो विरोध गर्ने र कालो झण्डा देखाउने प्रवृत्तिलाई आफैँले लडेर प्राप्त गरेको प्रजातन्त्रको उपलब्धिको रुपमा लिएको कुरा आफ्नै कुरा पुस्तकमा उल्लेखित छ । 

अध्येताहरूको अगाडि रहेर गिरिजाप्रसाद कोइरालाको बारेमा कलम चलाउँदै गर्दा कतै  इन्द्रको अगाडि स्वर्गको बखान गरे जस्तो हुने हो कि भन्ने भान परिरहेको छ । गिरिजाबाबुको बारेमा जगत नेपालको लेखनलाई राजेन्द्र दाहालले सम्पादन गरेको पुस्तक "आफ्नै कुरा" मा  धेरै रोचक, प्रेरक तथा कारुणिक तथ्य परक बहुआयामिक प्रस्तुति पाउन सकिन्छ। लोकतन्त्रमाथि चौतर्फी  प्रहार भैरहेको यो समयमा तत्कालीन राजा ज्ञानेन्द्रले "कू" गर्दा प्रजातन्त्र पुनःस्थापनका लागि गरिएको सङ्गघर्समा स्वयं म आफैँ सम्लग्न एउटा घटना क्रमलाई जोडेर एउटा आलेख प्रस्तुत गर्दै गिरिजाबाबुको संस्मरण गर्ने जमर्को गरेको छु।

उपत्यका लगायत मोफसलका विभिन्न एफ एम रेडियोमार्फत  त्यतिबेला प्रसारण हुने "समय चक्र" रेडियो कार्यक्रमका लागि एमालेका नेता केपी शर्मा ओलीसँग मैले लिएको अन्तर्वार्ता बज्ने दिन राजा ज्ञानेन्द्रले "कू" गरेपछि सबै सञ्चार गृहहरूलाई सरकारले  नियन्त्रणमा गरेकै कारण बज्न पाएन । 

मोफसलमा पठाउनको लागि रेकर्ड गरिएको अन्तर्वार्ताको सिडी लिएर काठमाडौँ एअरपोर्ट जान हिँडेको म  ज्ञानेन्द्रले "कू" गरे भन्ने सूचना पाएसँगै अब यो अन्तर्वार्ता रेडियोबाट प्रसारण हुँदैन भन्ने निश्चित भएपछि अब मुलुकको राजनीति के  हुन्छ त ? भनेर प्रतिक्रिया लिन  तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न कोइराला निवास महाराजगञ्ज  पुग्दा वरिपरि सशस्त्र प्रहरीहरू तैनाथ थिए । 

२०६१ माघ १९ गते पूर्वराजा ज्ञानेन्द्रले मुलुकको शासन ब्यवस्थामाथि "कू"गरेसँगै  कोइरालालाई नजरबन्दमा राखिएको थियो । परिवारका सदस्य बाहेक बाहिरी मानिस प्रवेशमा रोक लगाइएको थियो । त्यहाँ प्रवेश नपाएपछि कोइराला पुत्री तथा नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाको निवास मण्डिखाटार पुगेको थिएँ । त्यहाँ  सुजाता कोइराला, पूर्व राजदूत  सुरेश चालिसे र म बसेर विचार विमर्श गर्यौ। 

नेपाली कांग्रेसले ११ औँ महाधिवेशनको तयारी गरिरहेको बेला पार्टी सभापतिलाई नजरबन्द गरेपछि देशब्यापी रूपमा नेता, कार्यकर्तालगायत आम जनता ज्ञानेन्द्रको कदमप्रति अन्योलग्रस्त रहेको ठहर  गरियो । राजाको कदमको विरुद्धमा आन्दोलन चर्काउन अभिप्रेरित गर्दै सन्देश प्रेसित गर्नु  त्यतिबेलाको आवश्यकता हो भन्ने निष्कर्ष हाम्रो रह्यो । पार्टी सभापति गिरिजाबाबुको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्ने निधो गरियो। 

प्रेस विज्ञप्ति ड्राफ्ट गरी नेत्री सुजाता कोइराला संग भएको गिरिजाबाबुको हस्ताक्षरको स्ट्याम्प लगाएर  विभिन्न संचार माध्यममा दिने निधो गरियो। गिरिजाबाबुको आवाजमा ज्ञानेन्द्रको कदमको विरुद्ध सन्देश सम्प्रेषण गर्न सके अझ प्रभावकारी हुने ठानेर मैले आफ्नो रेकर्डरमा केही प्रश्नहरू  रेकर्ड गरे। अब कसरी प्रश्नहरूको जवाफ गिरिजाबाबुबाट लिने भन्ने अन्योल उत्पन्न भयो । 

टेलिफोन लाइन सबै अवरुद्ध गरिएको थियो। उक्त दिन आफ्नो  परिवारका सदस्यलाई भेट्न दिन्छ भन्ने सूचना पाएसँगै तत्कालीन अवस्थाको प्रतिक्रिया लिने गरि प्रश्नहरू रेकर्ड गरिएको रेकर्डर लगेर गिरिजावाबुको आवाज रेकर्ड गराउन पुत्री सुजाता कोइरालालाई अनुरोध गरेको थिए। चेकिङमा पुलिसले रेकर्डर खोस्न सक्ने आशंका पैदा भयो। आफ्नो गुप्ताङ्गमा लुकाएर भए पनि यो काम गर्नुपर्छ भनेर सुझाए अनुसार नेत्री कोइरालाले गिरिजाबाबुको सन्देश रेकर्ड गराएर ल्याउन सफल भइन् । त्यतिबेला नेपाली सञ्चार गृहहरूलाई राज्यले आफ्नो कब्जामा लिइसकेको थियो। गिरिजाबाबुको सन्देश नेपाली संचारमाध्यम बाट प्रेषित  गर्ने कुनै सम्भावना थिएन। अब यो सन्देश को क्यासेट रेकर्ड गरेर देशब्यापी वितरण गर्नु पर्छ भन्ने निर्णयसँगै हजारौँ क्यासेट तयार गरी उपल्ब्ध नेता कार्यकर्तामार्फत  विभिन्न जिल्लाहरूमा पठाएर राजाको कदमविरुद्ध  जनतालाई आन्दोलित बनाउने काम भएको थियो। 

सरकारले  नेपाली मिडियाहरू लाई  आफ्नो  नियन्त्रणमा राखेको भएता पनि  बीबीसीलगायत अन्तर्राष्ट्रिय संचार माध्यमहरूलाई भने समाचार सम्प्रेषणमा रोक लगाउन सकेको थिएन । बीबीसी नेपाली सेवामार्फत गिरिजाबाबुको सन्देश सम्प्रेषण  गराउने उद्देश्यले  क्यासेट बोकेर म सिधै  बीबीसी नेपाली सेवामा कार्यरत सुशील शर्माको घर धापासी पुगेको थिएँ ।  तर उनीसँग भेट भएन। बरु उनको घरमा बेलायती समाचार एजेन्सी रोयटर्सका नेपाल प्रतिनिधि गोपाल शर्मासँग भेट भयो।

 "सुशीलजी हिमाल खबर पत्रिकाको पुल्चोक अफिसमा राजेन्द्र दाहालसँग हुनुहुन्छ" भन्ने सूचना पाएपछि म सिधै त्यहाँ पुगेको थिएँ ।  "सुशीलजीलगायत अन्तर्राष्ट्रिय मिडियाका सबै पत्रकारहरू याक एण्ड यति होटलमा जम्मा भएका छन्" भन्ने सूचना राजेन्द्र दाहालबाट प्राप्त भएसँगै म तत्काल त्यहाँ पुगेँ। सुशील शर्मासँग त भेट भएन तर अर्का एक जना बीबीसी नेपाली सेवाका रिपोर्टर नवीन सिंह खड्का भेट भए । राजाको कदमविरुद्ध को प्रतिक्रिया  रेकर्ड गरिएको कोइरालाको संदेश आफूले लिएर आएको जानकारी गराउँदा "त्यस्तो सामाग्री हामीले प्रसारण गर्न मिल्दैन । आवस्यक परे हामी आफैँ पनि अन्तर्वार्ता  लिन सक्छौँ नि" भन्ने प्रतिक्रिया उनीबाट आयो। नजरबन्दमा रहेका गिरिजाप्रसाद कोइरालाको अन्तर्वार्ता लिने काम त्यतिबेला सम्भव थिएन ।

मसँग गिरिजाबाबुको संदेश रहेको सूचना अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरूको माझ फैलियो। एक जना बीबीसी  हिन्दी सेवाका प्रतिनिधिले मलाइ आफ्नो रूममा निम्त्याएर सँगै रहेको भारतीय एक सय रुपैयाँका बन्डलले भरिएको ब्रिफकेस खोलेर भने "व्हाट इज योर कस्ट फर दिस रेकोर्डेड म्यासेज"? 

तत्काल मेरो जवाफ रह्यो "आइ डण्ट  निड मोनि, यु जस्ट हेल्प टु रिभाइव डिमोक्रेसी इन नेपाल " । 

उनले खुशी हुँदै निःशुल्क प्राप्त गरेको गिरिजाबाबुको सन्देश बीबीसी  हिन्दी सेवामा बजाएका थिए । बीबीसी नेपाली सेवाले उक्त बजिसकेको गिरिजाबाबुको आवाज आफ्नो समाचारमा पछि बजाएको थियो । भ्वाइस अफ अमेरिका, आजतक, अलजजिरा, रोयटर्स लगायत अधिकतर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त सन्देश मसँग लिएर आफ्नो प्रमुख समाचारको रुपमा प्रेसित गरेका थिए ।

नजरबन्दमा भएका नेताको अन्तर्वार्ता कसरी अन्तर्राष्ट्रिय मिडियामा पुग्यो भनेर पुलिसले अनुसन्धान तीव्र बनाएको सूचना एक जना उच्च प्रहरी अधिकारीबाट प्राप्त भएपछि पक्राउ परिने शंकामा केही समय भूमिगत शैलीमा आफ्नो सकृयता बढाएको थिएँ । अर्ध भूमिगत अवस्थामा  रहेका नेपाली कांग्रेसलगायत अन्य  राजनीतिक दलका नेताहरूलाइ अन्तर्राष्ट्रिय सन्चार माध्यमहरू संग अन्तरकृया गराउने मेरो दैनिकी जस्तै बनेको थियो। त्यसबीचमा सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, शंकर पोखरेलललगायत अधिकांश उपलब्ध नेताहरूलाई अन्तर्राष्ट्रिय मिडियाहरूसँग अन्तरकृया गराउने भूमिका निर्वाह गरेको थिएँ । 

नेविसंघका एक जना मित्र डिल्ली गिरी भेट भएकोले राजाको कदमविरुद्ध  अन्तरास्ट्रिय मिडियाहरूमा प्रतिक्रिया दिने अवसर  जुटाएर युवाको आक्रोश प्रेसित गर्दै "कू" विरुद्ध  दबाव सृजना गर्ने कोसिस गरेको थिएँ । भूमिगत दलका नेताहरूलाई अन्तर्राष्ट्रिय मिडिया माझ अन्तरकृया गराउदै गर्दा  एक दिन रातको १ बजिसकेको थियो। याक एण्ड यति होटेलबाट पैदल हिडेर पुल्चोकतर्फ आफ्नो डेरामा जाँदै गर्दा सिंहदरबारको मुल गेटअघि सेनाले मेरो झोला खानतलासी लियो । झोलामा गिरिजा बाबुसँगको अन्तर्वार्ताको क्यासेट थियो । त्यो देखेर यो के हो ? भनी सेनाले प्रस्न गर्यो । "मैले गीत को क्यासेट हो" भनेर जवाफ फर्काएपछि त्यहाँबाट उम्किएको थिएँ । धन्न प्रेस विज्ञप्ति बाँडेर सकिएको थियो । नत्र मलाई त्यहीँ पक्राउ गर्थ्यो होला। हस्याङ फस्याङ गर्दै डेरातर्फ दौडदै गर्दा थापाथलीको पुलमाथि कुकुरले झम्टिहाल्यो। डेरामा हिँडेको म इन्जेक्सन लगाउन टेकु अस्पतालमा पुगेको थिएँ ।

पुलिसको निगरानी बढेसंगै कांग्रेस नेतृ सुजाता कोइराला भने भूमिगत शैलीमा भारततर्फ निर्वाशित भइन् । मुलुकमा लोकतन्त्र संकटमा परेको बेला गिरिजाबाबुजस्तो नेतृत्वको अभाव खड्किएकोले  यो संस्मरण पस्कने जमर्को गरेको हो। लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकोले कुनै बहानामा लोकतन्त्रमाथि बक्रदृस्टि लगाउनेहरूलाई परास्त गर्ने साहस र हिम्मत लोकतन्त्रप्रेमीमा हुनुपर्छ ।

अहिले मुलुकमा विधि, विधान, सेवा, सद्भाव, मूल्यांकन  र नैतिकता लोप हुँदै गएको देख्दा लाग्छ तेतिबेला उक्त मिहिनेतको को पारिस्रमिक लिएको भए हुने रहेछ। आखिर मैले नलिए पनि उनिहरूले उक्त क्यासेट भजाएर हजारौ डलर आर्जे होलान।   पैसा लगानी गरेर सम्मानित र पुरस्कृत हुन पाइने हाम्रो मुलुकमा बिदेसिको नजर पर्ने विभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने हरूको को मात्र यथार्थ मुल्यांकन भएको होला। अपवाद छोडेर पुरस्कार समेत नातावाद र किर्पावादमा जेलिएको छ। अधिकतर सरकारी कार्यालयमा फजुल पैसा बिना कुनै काम गर्न नसकिने हाम्रो नियतिको अगाडि यस्ता तथ्यहरू दन्तेकथा जस्तै लाग्न सक्छ।

०६२/०६३ को आन्दोलन ताका कृष्ण  मन्दिर पाटन परिसरमा गिरिजाबाबुसँग भेट हुँदा आफूले राजाको कदमविरुद्ध अन्तर्राष्ट्रिय  संचार माध्यममार्फत निभाएको भूमिका संस्मरण गराउँदा मलाई धाप मार्दै भनेका थिए "त्यो सब तिमीले गरेको हो ? पछि किन भेटेनौ ? "यु डिड ग्रेट वर्क"  मौकामा हिरा फोर्नु भन्छन् नि यै हो" भनेर मलाई हौसला प्रदान गरेका थिए ।

आफूलाई आफैँ वरिष्बठ पत्रकार ठान्नेहरूले नजरबन्दमा रहेका गिरिजाबाबुको अन्तर्वार्ता आफूले लिएर अन्तर्रास्ट्रिय सञ्चार माध्यमबाट प्रेसित गराएको भन्नेसम्मको झुटको खेती गर्नसम्म भ्याएका रहेछ्न् । विभिन्न भेटघाटहरूमा प्रसङ्ग निस्कदा स्वयं मैले झुटा तथ्यहरू फेला पारेँ । आफ्नैअघि यतिसम्मको झुट समाचार फैलाइन्छ भने तथ्य नभेटिएका झुट समाचारहरू कति होलान् ? अनुमान लगाउन नि गाह्रो छ।पत्रकारिता पेशाकै  बद्नाम गर्नेहरूनै सम्मानित र पुरस्कृत हुने हाम्रो मुलुकमा सत्य उजागर गर्न खोज्दा उल्टो आलोचनाको भागिदार बन्न बेर लाग्दैन। हाम्रो एउटै उद्देश्य प्रजातन्त्र माथी बक्रदृस्ठि लगाउने हरूलाइ ठेगान लगाउने हो।  तेसैले झुटो मा रमाउने हरू संग अल्झिएर आफ्नो समय बर्बाद गर्नु बेकार जस्तै लाग्छ।  जित उनिहरूकै हुन्छ। कलि युग न हो यो।

"पछि तिमी किन आएनौ ? मौकामा हिरा फोर्नु भन्छन् नि एइ हो" भन्दै गिरिजा बाबुले मलाइ मारेको "धाप" र वहाँ को वाक्यांशलाई  नै मैले पुरस्कार ठानेको छु।

गिरिजा बाबुको समिपमा रहेर काम गर्ने चाहना अधुरै रहयो। उनको देहावसान हुदा आफ्नै पिता गुमाएझै पीडा बोध भएको थियो। मुलुकमा  अहिले पनि गिरिजा बाबुको अभाव खड्किएको छ। गिरिजा बाबू  गुल्मीको एक सभालाइ सम्बोधन गर्न गएको बखत स्वागत लाइनको पंक्तिमा म पनि फूल माला लिएर उभिएको थिएँ । मेरो सामु गिरिजाबाबु आइपुग्दा आफू होचो बालक भएका कारण आकाशतर्फ फर्किएर उनको मुहार हेर्दै फूलको गुच्छाले स्वागत गर्न खोज्दा मेरो टोपी भुइँमा खसेको थियो ।

गिरिजाबाबुले भुइँबाट मेरो टोपी उठाएर टाउकोमा लगाइदिएको संस्मरण ताजा छ।  उक्त दिनदेखि उनीप्रतिको मेरो सद्भाव चुलिँदै गएको हो।  गिरिजाबाबुमा बाल स्नेह औधी थियो। आफ्नो नजिक साना बालबालिका देखेपछि काखमा लिनुहुन्थ्यो। मैले  गिरिजाबाबुसँगै विभिन्न समारोहहरूमा सहभागी हुँदा उनीमा अन्तरनिहीत बालप्रेम प्रत्यक्ष महसुस गरेको छु। शारीरिक कद उच्च भए सरि  राजनीतिक उचाइ को शिखरमा पुग्न उनी सफल भए।

२०५१ सालमा आफ्नो बहुमत सरकार हुँदा हुँदै संसद विघटन गर्ने निर्णयले अस्थिर राजनीतिको बिजारोपण गरेको आरोप खेपिरहेका कोइरालाले सशस्त्र द्वन्द्व मच्चाइरहेको माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराइ मुलुकमा शान्ति स्थापना गरेसँगै एसियाकै राजनेताको  सम्मान प्राप्त गर्न सफल भए।

निर्भिक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन २०६६ साल चैत्र  ७ गते भएको थियो। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता  गिरिजाप्रसाद कोइराला बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि  चार पटक नेपालको प्रधानमन्त्री बन्न सफल भए ।

२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक २०४८ जेठ १५ गते गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बनेका थिए।  १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गरेका गिरिजाबाबुले  आफू हारेर भए पनि मुलुकलाई जोगाउन सहासिक कदम उठाएको इतिहास जगजाहेर छ।

नेपाली कांग्रेसका 'महामानव' बीपी कोइरालाका कान्छा भाइ गिरिजाबाबुको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्म भएको थियो। बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाबाबुको जन्म भएको हो। उनका दुई दाजुहरू बीपी र मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए। सन् १९२९ मा परिवारसँगै नेपाल फर्किएसंगै उनको सुष्मा कोइरालासित विवाह भयो। कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाप्रसाद कोइराला कि एकमात्र सन्तान हुन्।

नेपालको इतिहासमा गिरिजाप्रसाद कोइरालालाई निडर र निर्भिक नेताका रुपमा चिनिन्छ। प्रजातन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको छ। सहकार्य, एकता र मेलमिलाप लाई पछ्याउँदै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु  कोइरालाको ऐतिहासिक उदाहरणीय सफलता हो। (लेखक पोख्रेल राजनीतिक विश्लेषक हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ