हुम्लामा हिमपातसँगै वर्षा : कृषि उत्पादन बढ्ने आशामा किसान, जनजीवन प्रभावित
जनकबहादुर शाही,
प्रकाशित २०८२ चैत ६ शुक्रबार
926
Shares
हुम्ला । बिहीबार बिहानैदेखि लागेको बदलीसँगै साँझपखबाट हुम्लाको मौसममा व्यापक परिवर्तन आएको छ। जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा भारी हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा सुरु भएको छ। यस वर्षको यो चौथो पटक भएको हिमपात र वर्षाले एकातिर कृषिमा आशा जगाएको छ भने अर्कोतर्फ जनजीवन कष्टकर बनाएको छ।
तल्लो हुम्लाका उच्च बस्तीहरू—खार्पुनाथ, सर्केगाड र सिमकोट आसपासका लेकाली क्षेत्रमा समेत हिमपात हुन थालेको छ। लगातारको हिमपात र वर्षाका कारण तापक्रम ह्वात्तै घटेको छ, जसले गर्दा चिसो अत्यधिक बढेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार उत्तरी भेगमा अझै हिमपात जारी रहेको छ।
अहिले नाम्खा क्षेत्रमा निरन्तर हिमपात भइरहेको जानकारी दिँदै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए। हिमपातका कारण स्थानीयको आवतजावत प्रभावित भएको छ, आवश्यक परे उद्धार तथा सहयोगका लागि सम्पुर्ण सुरक्षा निकाय तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
यद्यपि, कृषकहरूका लागि भने यो मौसम सकारात्मक संकेतका रूपमा देखिएको छ। यो समयमा परेको हिमपात र वर्षाले माटोमा चिस्यान बढाउने, जमिनलाई नरम बनाउने र पानीका स्रोतहरू पुनः भरिने भएकाले आगामी बाली उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी जेष्ठ महिनामा पाक्ने जौ, गहुँ, उवाजस्ता अन्नबालीका लागि यस्तो मौसमी अवस्था अत्यन्त लाभदायक मानिन्छ।
सिमकोटका स्थानीय किसानहरूका अनुसार समयमै भएको हिमपात र वर्षाले बालीको अंकुरण राम्रो हुने, किराफट्याङ्ग्रा कम लाग्ने र उत्पादन बढ्ने विश्वास गरिएको छ। साथै, कार्तिके बाली छर्नका लागि पनि अहिलेको वर्षा उपयुक्त हुने स्थानीय किसान मानबिर रोकायाको भनाइ छ।
तर, मौसमको प्रतिकूल असर जनजीवनमा स्पष्ट देखिन थालेको छ। चिसो बढेसँगै दैनिक कामकाज, विद्यालय सञ्चालन, बजार आवतजावत र स्वास्थ्य सेवा प्रभावित बनेका छन्। यस्तै, खराब मौसमका कारण हवाई सेवा समेत प्रभावित भएको छ । सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार शुक्रबार नेपालगञ्ज र सुर्खेत बाट सिमकोटका लागि कुनै पनि हवाई कम्पनीका जहाजले उडान भर्न सकेनन्। मौसममा सुधार नआएसम्म उडान नियमित हुन नसक्ने उनले बताए।
जिल्लामा समयमै परेको हिमपात र वर्षालाई समृद्धिको संकेतका रूपमा लिइने गरिन्छ। कठिनाइका बाबजुद किसानहरू यस वर्ष राम्रो उत्पादन हुने आशामा उत्साहित देखिएका छन् भने स्थानीय प्रशासनले मौसमको जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी तीव्र पारेको छ।