विद्यार्थी संगठन खारेजीको चर्चाप्रति नेविसंघको आपत्ति
विद्यार्थी संगठन खारेज गर्ने सोचे आगोको गोलामा हात हाले सरह हुनेछ : दुजाङ शेर्पा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
949
Shares
काठमाडौँ । नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरू खारेज गर्ने सोचे अब बन्ने सरकारका लागि महँगो पर्ने चेतावनी दिएको छ। शुक्रबार काठमाडौँमा आयोजित संघको सिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दुजाङ शेर्पाले यस्तो चेतावनी दिएका हुन्।
कहीँकतै मिडियामा विद्यार्थी संगठनहरू खारेज गर्नेबारे 'मिडिया ट्रायल' भइरहेको भन्दै उनले नयाँ सरकारले त्यस्तो कदम चाले त्यो आगोको गोलामा हात हाले सरह हुने बताए। अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र शाहहरूले र्याप गाउन र रवि लामिछानेहरूले बोल्न पाउने अधिकार प्राप्त भएको जिकिर गरे।
नयाँ बन्न लागेको सरकार र नेतृत्वलाई लक्षित गर्दै शेर्पाले भने, “म आज एउटा सन्देश र चेतावनी अब आउने सरकारलाई दिन चाहन्छु। कताकता विद्यार्थी संगठन खारेज गर्ने चर्चा सुनिएको छ। म भावी प्रधानमन्त्री बालेन शाह र देशको ठुलो दलका सभापति रवि लामिछानेजीलाई भन्न चाहन्छु— विद्यार्थी संगठन एउटा स्वयंसेवी संस्था र नेतृत्व विकासको थलो हो।”
उनले थप कडा शब्दमा भने, “बालेनलाई र्याप हान्ने र रवि लामिछानेजीलाई हिजो टीभीमा भ्रष्टाचारीको नाकको डाँडी भाँचिदिन्छु भनेर बोल्ने अधिकार नेविसंघले नै दिलाएको हो। सर्वोच्च अदालतले समेत हाम्रो अस्तित्वलाई मान्यता दिएको छ। त्यसैले आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला, त्यो ज्वालाले तपाईँहरू भष्म हुनुहुन्छ।”
अध्यक्ष शेर्पाले कांग्रेसभित्रको गुटगत स्वार्थका कारण नै यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय व्यहोर्नुपरेको दाबी समेत गरेका छन्।