arrow

पोखरामा ‘टिकट काटेर हेर्नलायक’ फोहर प्रशोधन केन्द्र बन्दैछ : मेयर आचार्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
dhanraj-acharya-pokhara-06-12.jpg

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा हालै देखिएको फोहरमैलाको समस्या समाधानको बाटोमा गएको बताएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र हालैका आन्दोलनका कारण सिर्जित फोहरले व्यवस्थापनमा केही असहजता ल्याए पनि महानगरले अल्पकालीन र दीर्घकालीन दुवै समाधानका काम सँगसँगै अघि बढाएको उाले स्पष्ट पारे ।

लामो समयसम्म फोहर नउठेर आलोचना खेप्नुपरेको भन्दै मेयर आचार्यले चुनावको मुखैमा फोहोर उठ्न नसक्नुको मुख्य कारण साउन–भदौसम्म पुग्ने अनुमान गरिएको अस्थायी विसर्जन केन्द्र ‘जेन-जी मुभमेण्ट’ (आन्दोलन) का कारण छिट्टै भरिएको बताए ।

मेयर आचार्यले चुनावको समयमा नयाँ ठाउँ खोज्न र व्यवस्थापन गर्न कठिन भए पनि गत ३० गतेबाट नयाँ अस्थायी विसर्जन केन्द्र तयार गरी फोहोर उठाउन थालिएको र अब पोखरा पुरानै अवस्थामा सफा हुने जानकारी दिए। 

उनले भने, ‘आन्दोलनमा ११८ ओटा सरकारी भवनहरू डढे, भाटभटेनीलगायत निजी क्षेत्रका सयौँ ट्रक डढेका र अधकल्चा सामानहरू फोहोरको रूपमा आए, जसले गर्दा फोहोर फाल्ने ठाउँ अनुमानभन्दा धेरै छिटो भरियो ।’

दीर्घकालीन समाधानका लागि महानगरले ‘फोहोरबाट मोहोर’ को अवधारणाअन्तर्गत काम शुरू गरिसकेको छ ।

पोखरामा दैनिक करिब दुई सय २५ टन फोहोर उत्पादन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै मेयर आचार्यले यसबाट साढे सात मेगावाट बिजुली बराबरको ऊर्जा उत्पादन गर्न सकिने बताए।

यसका लागि युरोपियन प्रविधि प्रयोग गरी एलपिजी ग्यास, कम्पोस्ट मल र निर्माणका ब्लकहरू उत्पादन गर्न अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएन) हरूको टोलीलाई गत मङ्सिर ९ गते ठेक्का दिइसकिएको छ । 

अबको ६ देखि ८ महिनाभित्रै मेसिनरी जडान गरी एक वर्षभित्रमा नेपालकै नमूना फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आउने र यो टिकट काटेर हेर्नलायक बन्ने उनको दाबी छ । 

यसअघि एशियाली विकास बैंक (एडीबी) को सहयोगमा १९ वर्षअघि निर्माण गरिएको अत्याधुनिक सेनेटरी ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चराहरूको जोखिम कम गर्न बन्द गर्नुपरेको थियो ।

सन् २०२३ जनवरी १ बाट विमानस्थल शुरू भएपछि वडा नं ३२ को लामेआहालमा अस्थायी व्यवस्थापन गरिँदै आइएको थियो । 

फोहोरमा राजनीति नगर्न आग्रह

मेयर आचार्यले फोहोरमैलामा राजनीति नगर्न र अनावश्यक टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन्।

उनले भने, ‘आफ्नो घर अगाडिको फोहोर उठ्नुपर्छ भन्ने तर आफ्नो वडामा फाल्न नदिने प्रवृत्ति जतासुकै छ । शहर सफा राख्ने दायित्व हामी सबैको हो ।’

हाल फोहोर विसर्जन भइरहेको नयाँ स्थानमा मानव स्वास्थ्य र पर्यावरणमा कुनै असर नपर्ने गरी प्राविधिक व्यवस्थापन गरिएको प्रतिवद्धतासमेत उनले जनाए।

पोखरा देशकै सबैभन्दा सफा शहर भएको र यसलाई कायम राख्न महानगरका सयौँ कर्मचारी दैनिक खटिरहेको स्मरण गराउँदै उनले पोखरेलीहरूको आफैँ सडक सफा गर्ने पुरानो संस्कृतिको समेत प्रशंसा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ