arrow

कांग्रेसको पुरानो समस्या सभापतिको राजीनामाबाट समाधान हुने होइन

logo
पदमसुन्दर गुरुङ,
प्रकाशित २०८२ चैत ६ शुक्रबार
padamsundar-gurung-06-12-082.jpg.jpeg

नेपाली कांग्रेस केन्द्रीय सभापति 
श्री गगनकुमार थापाज्यूलाई विद्धुतीय पत्र । 

आदरणीय सभापतिज्यू  
जय नेपाल । 

सर्वप्रथम तपाईंप्रति मेरो हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछु। तपाईंका राजनीतिक विचार, संघर्षशीलता र इमान्दारिताप्रति म सधैं प्रभावित हुँदै आएको एक ईमान्दार र कर्मठ र कर्तव्यनिष्ठ कांग्रेस कार्यकर्ता  हुँ। मेरो तपाईंसँगको चिनजान आजको होइन। वि.सं. २०५५/५६ सालतिर काठमाडौंको घट्टेकुलो–मैतीदेवी क्षेत्र तथा त्रि-चन्द्र कलेजको परिवेशमा तपाईंलाई नजिकबाट देख्ने, सुन्ने र बुझ्ने अवसर पाएको थिएँ। 

त्यो समयदेखि नै तपाईंभित्रको नेतृत्व क्षमता, स्पष्ट दृष्टिकोण र संगठनप्रतिको समर्पणले मलाई गहिरो प्रभाव पारेको थियो । तत्कालीन समयमा तपाईंले नेवि संघ भित्र गरेको संघर्ष केवल व्यक्तिगत उन्नतिको लागि होइन, समग्र विद्यार्थी आन्दोलनलाई दिशानिर्देश गर्ने खालको थियो। त्यही संघर्षको क्रममा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको वैचारिक अन्तरसंघर्ष पनि अत्यन्त नजिकबाट हेरेको र बुझेको व्यक्ति हुँ । 

त्यो अन्तरसंघर्षलाई तपाईंले विद्रोह होइन विचारको विकासको रूपमा स्थापित गर्नु हुँदै कांग्रेसभित्र गणतन्त्रको एजेण्डा प्रवेश गराउने साहसिक काम तपाईंले गर्नुभयो, जुन त्यस समय निकै चुनौतीपूर्ण थियो। विश्वविद्यालय र कलेजहरूमा गणतन्त्रबारे बहस सुरु गराउने तपाईंको भूमिका ऐतिहासिक रह्यो। उपत्यकाका कलेजहरुमा गणतन्त्र कि राजतन्त्र भनेर नमूना जनमत संग्रह र पशुपति क्याम्पसमा कुन्दनराज काफ्लेको  नेतृत्वमा कुकुर अभिनन्दन पनि तपाईंकै निर्देशन प्रेरणा र हौसलाबाट भएको देखेको व्यक्ति हुँ । 

नेपाली कांग्रेसभित्र यतिको धारिलो क्रान्तिकारी परिवर्तनकारी छुरा नचलाएको भए आज कांग्रेस कांग्रेस नहुन पनि सक्थ्यो । तपाईंको राजनीतिक उतारचढाबको यात्रामा १२ औँ महाधिवेशनबाट सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेशले नयाँ पुस्तामा आशा जगायो भरोसा दिलायो र नयाँ पुस्तालाई कांग्रेसप्रतिको आकर्षण बढायो । 

जब तपाईं संविधान सभा सदस्य हुनुभयो संविधान सभा सदस्यको रूपमा तपाईंले संविधान निर्माण प्रक्रियामा खेल्नु भएको  भूमिका कांग्रेसभित्र र बाहिर उदाहरणीय थियो र त्यो भूमिका उच्च मूल्याङ्कन योग्छ छ। तपाईं अत्यन्त छोटो समयको लागि स्वास्थ्य मन्त्री हुँदा जनतामुखी कामको शुरूआत गर्दै पहिले कसैको रुचीमा नपर्ने मन्त्रालयलाई आकर्षणको केन्द्र बनाउनु तपाईंको कार्यकुशलताको प्रमाण हो । 

पहिलो पटक आफ्नै कर्मबुबा एवं पाका अनुभवी नेताविरुद्व महामन्त्रीमा निर्वाचन लड्नु हुँदै दोश्रो प्रयासबाट महामन्त्री हुँदै विशेष महाधिवेशनबाट सभापति पदसम्मको यात्रा सजिलो थिएन। पार्टीभित्रको संघर्ष, संस्थापन पक्षको अनावश्यक दबाब र पेलानका बीच पनि तपाईंले देशभरिका कांग्रेस कार्यकर्तामा ऊर्जा दिनुभयो। 

गलत दिशातर्फ जान लागेको पार्टीलाई सच्याउन तपाईंले उठाउनुभएको आवाज, गठबन्धनको सैद्धान्तिक विरोध, र केन्द्रीय समिति बैठकमै पार्टी सुधारविरुद्व आएको प्रस्तावप्रति डटेर नोट अफ डिसेन्ट लेख्ने साहस गर्नुभयो । यी सबै कार्य र कर्मले तपाईंलाई केवल नेपाली कांग्रेसको नेतामात्र होइन, समग्र नेपाली राजनीति वृतको विचारवान व्यक्तित्वसहित एउटा राजनेताकै रूपमा स्थापित गरेको छ । 

म अझै एक कदम अगाडि बढेर तपाईंको सोच विचार र दृष्टिकोणलाई नाम गगन थापा  'गगन' नै हुनुहुन्छ भन्ने ठान्दछु । यो मेरो नितान्त व्यक्तिगत विचार भए पनि मेरो विचारसँग सहमत हुने लाखौँ कांग्रेस कार्यकर्ता र कांग्रेससँग भिन्न मत राख्ने अन्य राजनीति नेता कार्यकर्ताहरु पनि यहि सोच्छ्न र तपाईंलाई त्यसरि नै हेर्छ्न भन्ने कुरामा दुइमत छैन । 

आदरणीय सभापति ज्यू,
नेपाली कांग्रेसभित्रको सदियौँ पुरानो समस्या तपाईंले सभापति पदबाट दिएको राजीनामाबाट समाधान हुने होइन। बरु यसले पार्टीभित्र रहेका इमान्दार र ऊर्जावान कार्यकर्ताहरूलाई निराश बनाउने र लोकतान्त्रिक विचारबाट पलायन हुने खतरा बढाउँछ भन्ने मेरो बुझाई छ । 

यस्तो विषम परिस्थितिको माझमा अन्तर पार्टी  शक्ति संघर्ष र  दाउपेचको विच उठाईएको नैतिकताको विषयलाई यो तहको स्थान अथवा भाउ दिनु हुदैन ।  नेपाली कांग्रेस यो निर्वाचनमा किन हारे किन कमजोर भयो भन्ने कुरा सतहमा नै छर्लङ्ग छ । यसको भारि तपाई एक्लैले  बोक्नु पर्ने अनिवार्य मैले देखेको छैन । बरु हामीले यो निर्वाचनको हारका बाह्य र आन्तरिक कारणहरू के के थिए र भए भन्ने कुरा देशभरिका कार्यकर्तालाई स्पष्ट रूपमा बुझाउनुपर्ने हुन्छ। त्यसैले तपाई नेतृत्वबाट पछाडि हटेर होइन समस्याको बीचमा उभिएर समाधान खोज्ने समय हो ।

हामी सबैलाई थाहा छ—सदियौंदेखि समस्यामा फसेको कांग्रेसलाई तपाईको नेतृत्वले ४५/५० दिनको अन्तरालमै पूर्ण रूपमा लयमा फर्काउनु सम्भव थिएन। तर पनि तपाईं र तपाईंको टिमले गरेको हरेक इमान्दार प्रयासले कांग्रेसलाई “दास र जिउँदो लासहरूको पार्टी” बन्नबाट जोगाएको छ। यो नै तपाईंको सबैभन्दा ठूलो उपलब्धि हो। कांग्रेस हारको कारण खोज्दै जाँदा कहि कतै त्यसको दोष आफुले पनि लिनु पर्ने अवस्था आए रहे त्यसको भागिदार तपाई हुनै पर्दैन भन्ने मान्यताबाट म ग्रसित पनि छुईन । तपाईको भागमा पर्ने दोष तपाईले लिनै पर्छ । तर त्यो दोष राजीनामा सम्म पुग्नै सक्दैन भन्ने मेरो अटल विश्वास र भरोषा हो । 

त्यसैले, तपाईंको राजिनामा समस्याको समाधान होइन, झनै संकट निम्त्याउने कदम हुन सक्छ भन्ने मेरो दृढ विश्वास छ। भोलि बस्ने केन्द्रीय समिति बैठकले तपाईंको राजिनामालाई प्रारम्भिक छलफलमै अस्वीकृत गर्दै पार्टीलाई बचाउने दिशामा अघि बढोस् भन्ने हार्दिक अपेक्षा राख्दछु।

अन्त्यमा, तपाईं नेतृत्वमा रहँदै नेपाली कांग्रेसलाई सशक्त, सुदृढ र जनताको विश्वास जित्ने पार्टी बनाउने अभियानलाई निरन्तरता दिनुहोस् भन्ने आग्रह गर्दछु। तपाईं जस्ता इमान्दार र दूरदर्शी नेतृत्व आजको कांग्रेसलाई अत्यन्त आवश्यक छ । 
जय नेपाल । 
भवदीय 
पदम सुन्दर गुरुङ 
नेपाली कांग्रेस महासमिति सदस्य 
          एवं 
नेपाली जनसम्पर्क समिति बहराईन 
संस्थापक तथा निवर्तमान सभापति 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ