काठमाडौँ । अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा अनिवार्य रूपमा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन निर्देशन दिएको छ। विभागले बिहीबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका क्लबहरूले पर्यटक भिसामा आएका विदेशी खेलाडीहरूलाई मात्र समावेश गरिरहेको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो।
एन्फाद्वारा सञ्चालन भइरहेका विभिन्न फुटबल खेलहरूमा सहभागी क्लबहरूले पर्यटक भिसा लिएका विदेशी नागरिकलाई समेत खेलाडीका रूपमा मैदानमा उतारेको भन्दै विभागमा उजुरी प्राप्त भएपछि यो कदम चालिएको हो। विभागले जारी गरेको विज्ञप्तिमा कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई सहभागी गराउनुपर्ने अवस्था आएमा प्रचलित कानुन र नियमानुसार कार्य सहमति तथा श्रम स्वीकृति लिएर मात्र प्रक्रिया अघि बढाउन स्पष्ट पारिएको छ।
यस विषयलाई गम्भीरतापूर्वक लिँदै विभागले आजैदेखि सक्रिय अनुगमन समेत प्रारम्भ गरेको जानकारी दिएको छ। यदि कुनै पनि विदेशी खेलाडीले आफ्नो भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा उनीहरूमाथि तत्काल कानुनी कारबाही अगाडि बढाइने चेतावनी समेत विभागले दिएको छ। अध्यागमनको यो कडाइले अब फुटबल क्लबहरूलाई विदेशी खेलाडी अनुबन्ध गर्दा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने दबाब बढाएको छ।