चितवन। चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये दुई सय ५० ओटा चालु आर्थिक वर्षमा राप्ती नदीमा छाडिएका छन् । यसअघि गत आर्थिक वर्षमा प्रजनन केन्द्रमा हुर्काइएका एक सय ३३ गोही नदीमा छाडिएका थिए ।
सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हालसम्म केन्द्रमा हुर्काइएका कुल दुई हजार २८० गोही विभिन्न नदीहरूमा छाडिएका छन् ।
नदीगत विवरण अनुसार नारायणीमा ४१९, राप्तीमा एक हजार ५२५, कालीगण्डकीमा ३५, सप्तकोशीमा १०५ र कर्णालीमा ४१ ओटा गोही छाडिएका छन् । त्यस्तै, बबइ नदीमा ११०, चौधरमा २५ र बाँकेको पश्चिम राप्तीमा १० गोही छाडिएको छ ।
हावि हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ गोही रहेका छन् । झण्डै पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिन्छ ।
केन्द्र सन् १९७८ मा स्थापना भएको थियो र सन् १९८१ देखि गोहीका बच्चाहरू हुर्काएर नदीमा छाड्न थालिएको हो । सबैभन्दा बढी गोही राप्ती नदीमा छाडिएको छ, जुन नेपालमा घडियाल धेरै पाइने नदी हो ।
गोही छाडिएका नदी किनारमा अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरिन्छ र चल्ला निकालेर नदीमा पुनः छाडिन्छ । नदीमा छाडिएका बच्चा गोहीहरू केही मात्र हुर्किन्छन् भने धेरै बगेर भारततिर पुग्ने गर्दछन् ।
यस्तै, जालमा परेर, शिकारीको आक्रमणमा पर्नु र नदी प्रदूषणका कारण पनि गोही उच्च जोखिममा रहने गरेको छ ।