काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि ठूलो जोखिम निम्त्याउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम औपचारिक रूपमा शुरू भएको छ। सडक डिभिजन कार्यालय चरिकोटले करिब ४७ करोड रुपैयाँको लागतमा नेपालकै सबैभन्दा ठूलो ‘स्लोप स्टेबिलाइजेसन’ अर्थात् भिरालो जमिन स्थिरीकरण परियोजना अगाडि बढाएको हो। राजमार्गको ११३ किलोमिटर चेनेजमा पर्ने यो पहिरो विगत ८–१० वर्षदेखि निरन्तर बग्न थालेपछि सडकमा पूर्ण क्षति पुग्नुका साथै सडकभन्दा माथिका २५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए।
गत वर्षायाममा यो पहिरोले निकै उग्र रूप लिएपछि स्थानीय बासिन्दाले दीर्घकालीन समाधान खोज्न माग गर्दै राजमार्ग नै अवरुद्ध पारेका थिए। त्यसपछि सडक विभाग र अर्थ मन्त्रालयको समन्वयमा बजेट सुनिश्चित गरी यो ठूलो परियोजनाको काम थालनी गरिएको हो। सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले यसलाई नेपालकै सबैभन्दा ठूलो पहिरो नियन्त्रण प्रोजेक्टका रूपमा व्याख्या गर्दै पहिरोलाई थाम्न ३० मिटर गहिराइसम्म ‘सोइल र रक एंकर रड’ बिछ्याएर ग्राउटिङ गरिने जानकारी दिए। उनले सडकलाई सुरक्षित राख्न एमएसई वाल लगाइने र सतहमा पानीको उचित व्यवस्थापनका लागि ड्रेनहरू बनाइने समेत बताए।
भण्डारीका अनुसार तल भोटेकोशी नदीले गरेको कटानका कारण यो पहिरो यति ठूलो र जोखिमपूर्ण बनेको हो। यसलाई रोक्न नदी किनारमा चट्टान नभेटिएसम्म जग खनेर ३२ एमएमको रडसहित आरसीसी वाल लगाइने तयारी छ। पहिरोभित्र जमेको पानीले माटो बगाइरहेकाले सो पानी बाहिर निकाल्न होरिजन्टल ड्रिलिङमार्फत पाइप राखिने र ४ मिटर व्यासका ३ वटा ठूला कुवा खनेर भित्री पानी खोलामा पठाइने उनले बताए। यो चुनौतीपूर्ण इन्जिनियरिङ प्रोजेक्टको डिजाइन वरिष्ठ जिओटेक्निकल इन्जिनियरहरूको परामर्शमा तयार पारिएको हो।
आगामी असार मसान्तसम्म मुख्य काम सक्ने लक्ष्यका साथ निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले कार्यस्थलमा आवश्यक हेभी इक्विपमेन्टहरू पुर्याइसकेको छ। निर्माण कम्पनीका सञ्चालक टंकनाथ ढकालले स्थानीयको पूर्ण सहयोग रहे पनि सरकारी तवरबाट हुने प्रक्रियागत ढिलाइले कामको गतिमा केही असर गरेको गुनासो गरे। यद्यपि सरकारी अवरोध नभएमा र विभागबाट प्रक्रिया छिटो अघि बढेमा वर्षा शुरू हुनुअघि नै मुख्य कामहरू सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिने उनले बताए।