पहिलो पटक शहीद स्मारक महिला लिग शुरू, संकटा र आर्मीलाई सफलता [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
805
Shares
काठमाडौँ । शहीद स्मारक महिला लिग फुटबलको पहिलो संस्करण शुरू भएको छ । कूल नौ टिमको सहभागिता रहेको लिगमा बुधबार पहिलो दिन दुई खेल भएका छन् ।
प्रतियोगितामा सङ्कटा एफसीले न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै विजयी भएको छ । ललितपुरस्थित च्यासल रङ्गशालामा भएको खेलमा सङ्कटाले न्यूरोड टिममाथि ४–० गोलको जित निकाल्दै विजयी भएको हो । सङ्कटाको जितमा विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले समान एक/एक गोल गरे ।
पहिलो दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले झापा फुटबल क्लबलाई ५-० को फराकिलो अन्तरले हरायो । अन्जना थुलुङ राईले २ तथा दीपा शाही, हिमा चौधरी र तुलसा बोहराले समान एक गोल गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फ)को आयोजनामा शुरू भएको उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ ।
सहभागी हुने अन्य टिममा बागमती, पुलिस, एपीएफ, चर्च ब्वाइज र आएस पोखरा छन् । लिगको शुरूमा राउन्ड रोबिनको आधारमा एकअर्काविरुद्ध खेल्नेछन् । शीर्ष ६ टिम अर्को चरणमा प्रवेश गर्नेछन् । त्यसमा पनि राउन्ड रोबिनकै आधारमा खेलाइनेछ । त्यसपछि चार शीर्ष टिमबीच एक क्वालिफायर र दुई इलिमिनेटर हुनेछ। र, अन्त्यमा उपाधिका लागि फाइनल खेल हुनेछ ।
यसपटक प्रतियोगितामा ५५ खेल हुनेछन् । यस लिगमा एक टिम भने रेलिगेसनमा पर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणको खेल तालिकामात्र जारी गरेको छ। यो चरणको खेल च्यासल, दशरथ रंगशाला र एन्फा कम्प्लेक्स गरी तीन स्थानमा हुनेछन्।
यसपालि उपाधि भिडन्तमा तीनै विभागीय टिम हावी हुने देखिएको छ । यो प्रतियोगिता भारतको गोवामा हुने वुमेन्स साफ च्याम्पियनशिप तयारीको रूपमा पनि हुनेछ ।