arrow

इरानमाथिको सैन्य कारबाही "राम्ररी अघि बढिरहेको" ट्रम्पको दाबी

पुनर्निर्माण गर्न १० वर्ष लाग्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
trump-always101.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही "राम्ररी अघि बढिरहेको" बताएका छन्। मङ्गलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको ह्वाइट हाउसले जनाएको छ।

हालसम्मका आक्रमणबाट इरानको सैन्य संरचनामा ठुलो क्षति पुगेको ट्रम्पको दाबी छ। उनका अनुसार अहिलेको बमबारीबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न इरानलाई कम्तीमा १० वर्ष लाग्नेछ। "हामीले राम्रो काम गरेका छौँ। उनीहरू अहिले नै पछि हटे पनि क्षति पूर्ति गर्न दशक लाग्छ," ट्रम्पले उल्लेख गरेका छन्।

भविष्यमा इरानबाट हुन सक्ने सम्भावित खतरालाई रोक्न थप कडा र स्थायी कदम चाल्नुपर्नेमा ट्रम्पले जोड दिएका छन्। उनले इरानमाथि थप दबाब कायम राख्नुपर्ने धारणा व्यक्त गरेको समाचारमा जनाइएको छ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरान क्षेत्रमा सक्रिय विभिन्न मिलिसिया समूह र आतङ्कवादी सङ्गठनहरूबाट गम्भीर खतरा रहेको बताएका छन्। त्यस्ता समूहहरूलाई निस्तेज पार्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, "त्यहाँ धेरै आतङ्कवादी गतिविधिहरू छन्, हामीले भेटिएसम्म त्यस्ता समूहहरूलाई समाप्त गर्नुपर्छ।"

अमेरिकी र इजरायली फौजले हाल इरानका सैन्य संरचना तथा मिसाइल अड्डाहरूलाई लक्षित गरी आक्रमण जारी राखेका छन्। अमेरिकी सेनाले इरानको हर्मुज जलमार्ग नजिकै रहेका कडा संरचनायुक्त मिसाइल अड्डाहरू ध्वस्त पार्न ५,००० पाउन्ड तौलका ‘डीप पेनेट्रेटर’ बम प्रयोग गरेको जनाएको छ।

मध्यपूर्वमा चर्किएको यो तनावले अन्तर्राष्ट्रिय सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर प्रभाव पार्न सक्ने भन्दै विश्व समुदायले चिन्ता व्यक्त गरेको छ। विशेष गरी हर्मुज जलमार्ग क्षेत्रमा भएको आक्रमणले तेलको मूल्य र ढुवानीमा ठुलो असर पुर्‍याउन सक्ने विज्ञहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ