अमेरिकापछि अर्जेन्टिना पनि बाहिरियो विश्व स्वास्थ्य सङ्गठनबाट
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
1.9k
Shares
काठमाडौँ । अर्जेन्टिनाले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ। संयुक्त राज्य अमेरिकाले यस वर्षको सुरुमा चालेको कदमलाई पछ्याउँदै अर्जेन्टिनाले पनि यो निर्णय लिएको विदेश मन्त्रालयले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट सहयोगी मानिने अर्जेन्टिनी राष्ट्रपति ज्याभियर माइलीको सरकारले एक वर्षअघि नै डब्ल्युएचओ छोड्ने घोषणा गरेको थियो। कोभिड–१९ महामारी नियन्त्रणमा सङ्गठनको भूमिकाको आलोचना गर्दै माइली सरकारले अन्तर्राष्ट्रिय सन्धिले तोकेको समयसीमाभित्र फिर्ताको प्रक्रिया पूरा गरेको उल्लेख गरेको छ।
अर्जेन्टिनाका विदेश मन्त्री पाब्लो क्विर्नोले सामाजिक सञ्जाल 'एक्स' मार्फत आफ्नो देशले सार्वभौमिकता र स्वास्थ्य नीतिहरूमा स्वतन्त्र निर्णय गर्ने क्षमतालाई संरक्षण गर्न यो कदम चालेको दाबी गरेका छन्। "अर्जेन्टिनाले द्विपक्षीय सम्झौता र क्षेत्रीय मञ्चहरू मार्फत स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई जारी राख्नेछ," उनले जनाएका छन्। गत वर्ष अर्जेन्टिनाले डब्ल्युएचओका सिफारिसहरू विज्ञानमा नभई राजनीतिक स्वार्थमा आधारित भएको आरोप लगाएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस फर्किएलगत्तै बहुराष्ट्रिय समूहबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि अमेरिका गत जनवरीमा औपचारिक रूपमा डब्ल्युएचओबाट बाहिरिएको थियो। सोही बाटो पछ्याउँदै अर्जेन्टिनाले पनि सदस्यता त्यागेको हो।
विश्व स्वास्थ्य सङ्गठनले बिफर उन्मूलन तथा पोलियो, एचआईभी, इबोला र क्षयरोग जस्ता रोगहरू विरुद्ध विश्वव्यापी लडाइँमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। गत जनवरीमा अमेरिकी बहिर्गमनप्रति खेद व्यक्त गर्दै डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले यसले अमेरिका र बाँकी विश्वलाई नै असुरक्षित बनाउने चेतावनी दिनुभएको समाचारमा उल्लेख गरिएको छ।