सांसदको धर्म 'वाच डग' बन्नु हो, आफ्नै सरकारमाथि पनि प्रश्न उठाउनुपर्छ : स्वर्णिम वाग्ले
४८ प्रतिशत मतको भारी बोकेर ऐतिहासिक पदचाप कोर्ने रास्वपाको संकल्प
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
3.2k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले हालैको निर्वाचनमा पार्टीले प्राप्त गरेको जनमतलाई 'असाध्यै गरुङ्गो वैधता' को संज्ञा दिँदै यसलाई जोगाएर अघि बढ्नुपर्ने बताएका छन्। मंगलबार ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको आशा र भरोसालाई ऐतिहासिक जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए।
डा. वाग्लेले रास्वपाले ५१ लाख अर्थात् झण्डै ४८ प्रतिशत 'पपुलर भोट' हासिल गरेको उल्लेख गर्दै प्राविधिक कारणले मात्रै १८२/१८४ को स्पष्ट आँकडा तलमाथि परेको तर जनादेशका हिसाबले पार्टी दुई-तिहाइ नजिक रहेको दाबी गरे। सांसदहरूको मुख्य भूमिकाबारे प्रष्ट पार्दै उनले विधायकको पहिलो काम कानुन निर्माण गर्नु र सरकारका कामकारबाहीको 'वाच डग' (निगरानीकर्ता) बनेर खबरदारी गर्नु रहेको बताए। आफ्नै पार्टीको सरकार बने पनि गलत काममा औँला उठाउन पछि हट्न नहुने र जनताका मुद्दालाई सदनमा बुलन्द रूपमा उठाउनुपर्ने उनको भनाई थियो।
त्यसैगरी, पार्टीका अर्का केन्द्रीय उपसभापति डोलप्रसाद अर्यालले अघिल्लो सदनमा संख्यात्मक कमजोरीका कारण सोचेजस्तो परिणाम दिन नसकिएको स्वीकार गरे। भ्रष्टाचार र कुशासनविरुद्ध बालबालिका समेत विद्यालय पोसाकमै सडकमा ओर्लिनुपर्ने अवस्था आउनु दुःखद रहेको बताउँदै उनले यसपटक बलियो संख्यासहित सदनमा प्रवेश गरेकाले सुशासन र समृद्धिको पक्षमा प्रभावकारी डेलिभरी दिने प्रतिबद्धता व्यक्त गरे। रास्वपाका नवनिर्वाचित सांसदहरूलाई संसदीय मर्यादा, नीति निर्माण र जनउत्तरदायी भूमिकाबारे प्रशिक्षण दिन यो दुईदिने कार्यक्रम आयोजना गरिएको हो।