पाकिस्तानले अफगानिस्तानको अस्पतालमै गर्यो हवाई आक्रमण, चार सयको मृत्यु, अढाई सय घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
1.8k
Shares
काबुल । पाकिस्तानले फेरि अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । सोमबार राति पाकिस्तानी वायुसेनाको लडाकु विमानहरूले राजधानी काबुलका धेरै क्षेत्रहरूलाई लक्षित गरेका हुन् ।
लक्षित क्षेत्रहरूमा एक अस्पताल पनि समावेश रहेको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।
रिपोर्टका अनुसार दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपरका धेरै क्षेत्रमा विस्फोट र गोलीबारी सुनिएको छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध छुटाउने अस्पतालमा बम विस्फोट गराएको आरोप लगाएका छन्।
तालिबानले आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवता विरुद्धको अपराध भनेको छ र पाकिस्तानले अफगान हवाई क्षेत्रको उल्लंघन गरेको बताएको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफका प्रवक्ता मोसरफ जैदीले आरोपहरूलाई निराधार भन्दै खारेज गरेका छन् ।
काबुलको कुनै पनि अस्पताललाई लक्षित नगरिएको उनले बताएका छन् ।
आक्रमणबाट दुई हजार शैयाको अस्पतालमा ठूलो क्षति पुगेको छ । अफगानिस्तान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा स्थानीय समय अनुसार राति ९ बजेतिर आक्रमण भएको बताए ।
मिडिया टोली आइपुग्दा अस्पतालका केही भागहरूमा अझै आगो लागेको थियो। ३० भन्दा बढी शवहरूलाई स्ट्रेचरमा बोकेर लगिएको थियो। अस्पतालका अधिकारीहरूले बिरामीहरूको उपस्थितिको कारणले मृतक र घाइतेहरूको संख्या धेरै बढी हुन सक्ने बताएका छन्।