काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उम्मेदवारहरूलाई आगामी चैत ५ गते आधिकारिक प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ।
समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार उक्त दिन बिहान ११:३० बजे आयोग परिसरमा एक विशेष समारोहका बीच निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ। राजनीतिक दलहरूले पेस गरेको नामावलीका आधारमा आयोगले निर्वाचित सदस्यहरूको विवरण सार्वजनिक गर्दै उनीहरूलाई विजयी घोषणा गरिसकेको छ।
आयोगले प्रमाणपत्र वितरणका लागि निर्वाचित सदस्यहरूलाई आफ्नो सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटोसहितको व्यक्तिगत विवरण आजै उपलब्ध गराउन आग्रह गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल छ वटा राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल भएका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट हात पारेको छ भने नेपाली कांग्रेसले २० र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६ सिट प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९ सिट, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट जितेका छन्।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य रहने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले यी समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेसँगै यस पटकको संसदीय निर्वाचनको सम्पूर्ण प्रक्रियाले औपचारिक रूपमा पूर्णता पाउनेछ।