एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरू : लेखराज भट्ट
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
3.2k
Shares
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन र पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा पार्टीको तल्लो तहबाटै स्वतःस्फूर्त रूपमा सुरु भइसकेको बताएका छन्।
केन्द्रबाट कुनै औपचारिक परिपत्र वा निर्देशन जारी नभए पनि वडा र जिल्ला तहका कमिटीहरूले आ-आफ्नो स्तरमा बैठकहरू सञ्चालन गरी रिपोर्ट तयार पार्ने काम गरिरहेको उनले जानकारी दिए। पार्टीको केन्द्रीय सचिवालय बैठकमा समीक्षाको एजेन्डा तय भए पनि वर्तमान परिस्थितिका कारण त्यसमा विस्तृत रूपमा प्रवेश गर्न नसकिएको उनले स्पष्ट पारे।
भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेकाले यो समय गहिरो राजनीतिक समीक्षाका लागि उपयुक्त नभएकाले उक्त एजेन्डालाई तत्कालका लागि थाती राखिएको हो। उनले पार्टीको जीवनमा हरेक योजनाको समाप्तिपछि समीक्षा अनिवार्य हुने उल्लेख गर्दै कहाँ, के कस्ता कमीकमजोरी भए भन्नेबारे तल्लो तहका कार्यकर्ता र कमिटीहरू आफैँ सचेत रहेको दाबी गरे। अध्यक्ष ओली शोकबाट मुक्त भएपछि बस्ने आगामी बैठकले मात्र औपचारिक रूपमा निर्वाचनको पूर्ण समीक्षा प्रक्रियालाई अगाडि बढाउने उनले बताए।