काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई बिहान ओली निवास गुण्डूमा लगेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । त्यहाँबाट दिउँसो पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिएको छ ।
अध्यक्ष ओलीले पितालाई दागबत्ती दिएका छन् । मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान उनको निधन भएको थियो ।
एमाले नेता तथा कार्यकर्ता, शुभेच्छुक एवं विभिन्न दलका नेताहरू पशुपतिमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।
स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् । ओलीका जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओली हुन् ।