नयाँ सरकारसँग 'जेन-जी'को आस: सुशासन र रोजगारी प्राथमिकतामा, १० बुँदे सहमति कार्यान्वयनको माग
गफ होइन, सुशासन र रोजगारी देऊ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
833
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति नेपालको 'जेनजी' पुस्ता (नयाँ युवापुस्ता) ले ठूलो अपेक्षा र चासो देखाएको छ। विशेषगरी सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारलाई यो पुस्ताले आफ्नो मुख्य माग बनाएको छ। संसद्मा युवा अनुहारहरूको बढ्दो उपस्थितिले पनि डिजिटल सेवा र पारदर्शी विकासको आशा जगाएको युवाहरूको बुझाइ छ।
गत भदौ २३ गते भएको भ्रष्टाचार विरोधी आन्दोलनमा घाइते भएका २५ वर्षीय मदन कार्कीले अब बन्ने सरकारले युवापुस्ताको मर्म बुझ्नुपर्नेमा जोड दिए। उनले सरकार र 'जेनजी' आन्दोलनकारी समूहबीच भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने र आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग राखे। उनले भने, "नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस्।"
आन्दोलनकै क्रममा घाइते भई अस्पतालमा उपचाररत २० वर्षीया लिजा अधिकारी पनि अस्पतालको शय्याबाटै नयाँ सरकारले युवाका माग पूरा गर्नेमा विश्वस्त देखिन्छिन्। उनका अनुसार अबको सरकारले भ्रष्टाचार अन्त्य र पारदर्शितालाई व्यवहारमै उतार्नुपर्छ। यस्तै, २२ वर्षीया सुजता कार्कीले आन्दोलनपछि युवाहरूमा राजनीतिप्रतिको चासो बढेको उल्लेख गर्दै सरकारले 'पार्टटाइम' रोजगारीको व्यवस्था र पिछडिएको क्षेत्रको विकासमा ध्यान दिनुपर्ने सुझाव दिइन्।
नयाँ सरकारसँग युवाहरूको अपेक्षा केवल रोजगारीमा मात्र सीमित छैन। दोलखाका २३ वर्षीय विशाल बुढाथोकीले सहर र गाउँबीचको विकासको असन्तुलन हटाउनुपर्ने र विदेशमा अध्ययन गरेर फर्किनेहरूका लागि व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने बताए। यस्तै, काठमाडौँका २७ वर्षीय विनय ढुङ्गानाले डिजिटल सरकार (डिजिटल गभर्नेन्स) र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिए। उनले भने, "सामान्य कामका लागि भनसुन वा पैसा दिनुपर्ने अवस्थाको अन्त्य होस्।"
दोलखाका २४ वर्षीय किरण बुढाथोकीले पर्यटन, जलविद्युत् र कृषिको सम्भावनालाई उजागर गर्दै दलहरूले आफ्ना घोषणापत्र कार्यान्वयन गर्नुपर्ने धारणा राखे। खोटाङकी १९ वर्षीया सलिना राईले भने युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य नै अबको सरकारको मुख्य जिम्मेवारी हुनुपर्ने बताइन्। समग्रमा, जेनजी पुस्ताले नयाँ सरकारबाट गफभन्दा बढी काम र पुराना बेथितिको अन्त्य चाहेको देखिन्छ।