arrow

सरकारले छ अर्ब आन्तरिक ऋण उठाउँदै

सर्वसाधारणले पनि लगानी गर्न पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
finance-ministersss.jpg

काठमाडौँ । सरकारले देशको विकास निर्माण र सार्वजनिक खर्च व्यवस्थापनका लागि ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ५ वर्षे अवधिको 'विकास ऋणपत्र २०८७' मार्फत यो ऋण संकलन गर्न लागिएको हो।

यस ऋणपत्रको बोलकबोल आज (२६ फागुन) हुनेछ भने औपचारिक निष्कासन भोलि (२७ फागुन) गरिनेछ। यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी र संगठित संस्थाहरूका साथै आम नेपाली नागरिकले समेत सहभागी भई बोलकबोल पेस गर्न सक्नेछन्।

कार्यालयका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोल (अक्सन) प्रक्रियाबाटै तय गरिनेछ। बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने र सोही 'कट–अफ' ब्याजदरका आधारमा सबै सफल बोलवालाहरूलाई एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ।

यो ऋणपत्रको अर्को महत्वपूर्ण विशेषता भनेको यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिन र दिन पाइने सुविधा हो। यसले गर्दा लगानीकर्ताहरूलाई आवश्यक परेको समयमा पूँजी परिचालन गर्न सहज हुनेछ। ५ वर्षपछि २०९२ सालमा परिपक्व हुने यो ऋणपत्रले बजारमा तरलता व्यवस्थापन र सरकारी वित्त सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ