काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिने भन्दा पनि जिम्मेवारी पूरा गर्ने समय आएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत नेता भण्डारीले पार्टीका महामन्त्री गगन थापालाई नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त र जिम्मेवार बाटो भएको उल्लेख गरे।
उनले लेखेका छन्, "राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।"
उनका अनुसार यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व हो। युवाहरूले कांग्रेस छोड्दै गएको समयमा पार्टीलाई 'औषधि' खुवाएर बचाउनुपर्ने भन्दै उनले यस्तो बेला मैदान छाडेर हिँड्न नहुने तर्क गरे।
"नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ," भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्।