arrow

हुम्लामा जयपतिको जितसँगै पूर्व मुख्यमन्त्री शाहीले भने - भरोसा टुट्न दिने छैनौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
jeebanbahadur-shahi-82-11-25.jpg

हुम्ला । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएपछि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले जनताको भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुर्गम जिल्ला हुम्लाबाट आएको निर्वाचन परिणामलाई उनले केवल एक उम्मेदवारको जीत–हारको परिणाम मात्र नभई जनताको आशा, अपेक्षा र राजनीतिक विश्वासको अभिव्यक्ति भएको बताएका छन्। उनका अनुसार यस पटकको निर्वाचनमा रोकायाको विजयले हुम्ली मतदाताले फेरि एकपटक नेपाली कांग्रेस प्रति भरोसा व्यक्त गरेको स्पष्ट देखाएको छ।

'लोकतन्त्रमा चुनाव जनताको आवाज हुने उल्लेख गर्दै शाहीले मतपेटिकामा खसेको प्रत्येक मतले नागरिकको आशा, असन्तुष्टि र भविष्यप्रतिको अपेक्षा व्यक्त गर्ने बताए। हुम्लाको परिणामले मतदाताले स्थिरता, अनुभव र जिम्मेवार राजनीतिक नेतृत्व रोजेको सन्देश दिएको छ', उनले भने।

उनले यस विजयमा पार्टीभित्रको एकता, कार्यकर्ताको सक्रियता र संगठनात्मक सुदृढताले महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरे। कांग्रेस नेता शाहीका अनुसार कार्यकर्तालाई एकताबद्ध बनाउँदै पार्टीले चुनावमा केन्द्रित अभियान चलाएकै कारण अन्ततः लक्ष्य हासिल गर्न सफल भएको हो।

हुम्ला जस्तो दुर्गम जिल्लामा अझै धेरै विकासका चुनौती रहेको बताउँदै उनले सडक, स्वास्थ्य, शिक्षा, सञ्चार र रोजगारीका क्षेत्रमा ठोस पहल आवश्यक रहेको बताए। 'जनताले दिएको मतको वास्तविक अर्थ त्यतिबेला मात्रै देखिन्छ, जब उनीहरूको जीवनस्तर सुधार हुने काम अघि बढ्छ', उनले भने।

विजयपछि कार्यकर्तालाई सम्बोधन गर्दै शाहीले सबैलाई शालीनता, अनुशासन र जनसेवामा केन्द्रित हुन निर्देशन दिएका छन्। लोकतन्त्रमा विजयलाई अहंकारको विषय नभई सेवा र जिम्मेवारीको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।

हुम्लाको निर्वाचन परिणामले राजनीतिमा नकारात्मकता भन्दा विश्वास र आशा बलियो हुने सन्देश दिएको शाहीले बताए। 'अब निर्वाचित प्रतिनिधि र राजनीतिक नेतृत्वले जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्र यो विजय वास्तवमै ऐतिहासिक बन्नेछ', उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ