arrow

निर्वाचन सम्पन्न गराउन प्रहरीको भूमिका प्रशंसनीय: आईजीपी कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
dan-bahadur-karki-igp.jpg

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले निर्वाचनका समयमा प्रहरीले निर्वाह गरेको भूमिकाले सङ्गठनको समग्र श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे।

महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारको अभाव र प्रहरीको मनोबल एवं क्षमतालाई लिएर व्यक्त भएका विभिन्न अभिव्यक्तिका बाबजुद निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सबैले उच्च मनोबलका साथ कार्यसम्पादन गरेको बताए। प्रहरी कर्मचारीले सामूहिक भावना र जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता निकै सराहनीय रहेको उनको भनाइ थियो।

प्रहरीको अथक सक्रियता र क्रियाशीलताका कारण समाजमा शान्तिसुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै उहाँले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्ने सबै प्रहरी कर्मचारीको उच्च प्रशंसा गरे। आगामी दिनमा सबैको सहकार्य र समन्वयबाट सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा पनि भएको बताउँदै यसका लागि सेवाभाव, इमानदारी, उच्च व्यावसायिकता र दृढ अनुशासन आवश्यक रहेको उल्लेख गरे। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठनिक लक्ष्यप्रति सदैव केन्द्रित भई प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ