अझै एक हप्ता काठमाडौँमा प्रदूषण रहने, बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौला लगायतमा समस्या देखिने, सकभर बाहिर ननिस्कने, निस्कनै परे मास्क लगाउने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
841
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् ।
उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौला लगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरे ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गरेका छन् ।
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ । पुराना गाडीले वायु प्रदूपण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलोधुवाँका कारणले प्रदूषण बढेको उनको भनाइ छ ।
अझै एक हप्ता काठमाडौँमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौँ उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन ।
वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ ।
विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा मसिना कणहरु बढेको जनाइएको छ ।
एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क निकै खराब रहेको छ । एक्यूआई २०० सम्म पुगको छ ।
यससँगै काठमाडौँ सोमबार बेलुकी विश्वको दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । पहिलो स्थानमा बंगलादेशको ढाका रहेको छ ।
प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै वातावरणविद् भूषण तुलाधरले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे ।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ ।
त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे ।
उनका अनुसार १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।
यता चिकित्सकहरुले पछिल्लो समय आँखा र नाक चिलाउने समस्या लिएर अस्पताल आउनेको संख्या बढ्न थालेको बताएका छन् ।
चिकित्सकहरुले बाहिर सकभर ननिस्कने र निस्कनै परे मास्क तथा चस्माको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।
काठमाडौँ उपत्यकामा गत असोजपछि पानी पर्नै सकेको छैन । क्षणिक वर्षा फाटफुट स्थानमा परे पनि त्यो फलदायी हुन सकेको छैन । आइतबार राति पनि फाटफुट वर्षा भएको थियो ।