arrow

केपी ओली १० हजार बढी मतले पछाडि

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
oli-balen-new.jpg

काठमाडौँ। झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार बालेनले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० हजारभन्दा बढी मतान्तरले पछि पारेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका बालेन्द्र शाहले १३ हजार ६५४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ११ मत मात्र पाएका छन्। चारपटकसम्म देशको प्रधानमन्त्री भइसकेका ओलीसँग बालेनको मतान्तर १० हजार ६४३ पुगेको छ। एमालेको बलियो गढ मानिने यस क्षेत्रमा सुरुवाती चरणदेखि नै बालेनले बनाएको यो अग्रताले राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ।

यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले १ हजार ५१७ मत पाएका छन् भने नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४०३ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा देशभरमै सबैभन्दा बढी मतान्तरले जितेका ओली आफ्नै क्षेत्रमा युवा उम्मेदवारसँग यति ठूलो अन्तरले पछि परेपछि अहिले देशभर नै झापा ५ को नतिजालाई निकै चासोका साथ हेरिएको छ। 

साथै निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाकै वर्चस्व देखिएको छ। यहाँ शम्भुप्रसाद ढकाल ३ हजार २१७ मतसहित अगाडि छन् भने एमालेका लालप्रसाद साँवा लिम्बूले ९५२ र कांग्रेसका देउकुमार थेवेले ९२४ मत पाएका छन्। 

यता क्षेत्र नम्बर ३ मा रास्वपाका प्रकाश पाठक ९ हजार २६४ मतका साथ अग्रस्थानमा छन्। उनले राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई ४ हजार ३४० मतले पछि पारेका हुन्। लिङ्देनले ४ हजार ९२४ मत पाउँदा श्रम संस्कृति पार्टीका दीपक तिम्सिना २ हजार ४६३ मतका साथ तेस्रो स्थानमा छन्।

क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राना मगर १० हजार ४४३ मतसहित निकै अगाडि छिन्। उनका प्रतिस्पर्धी एमालेका देवराज घिमिरेले १ हजार ७०३ मत मात्र पाएका छन्, जसले गर्दा उनीहरूबीच ८ हजार ७४० को मतान्तर देखिएको छ। यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले १ हजार ३५७ र कांग्रेसकी सरिता प्रसाईंले ९०९ मत प्राप्त गरेका छन्। 

यस्तै, क्षेत्र नम्बर १ मा रास्वपाकी निशा डाँगी ७ हजार ९४३ मतसहित अग्रस्थानमा छिन्। उनलाई श्रम संस्कृति पार्टीका केवल राईले २ हजार ५१३ र कांग्रेसका केशवराज पाण्डेले १ हजार ९३४ मतका साथ पछ्याइरहेका छन्। झापाका सबै क्षेत्रमा रास्वपाको लहर देखिएपछि पुराना दलका 'हेभीवेट' उम्मेदवारहरू अहिले दबाबमा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ