मध्यपूर्वमा युद्धको डढेलो: इरान-इजरायल सिधा टकराब, विश्व शक्तिबीच कूटनीतिक खिचातानी
इरान र इजरायलबीच वारपारको लडाइँ, विश्व बजारमा तेलको हाहाकार
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
2.1k
Shares
काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध थप भयावह बन्दै गएको छ। इरान र इजरायलबीचको नयाँ क्षेप्यास्त्र प्रहार, लेबनानमा भीषण हवाई आक्रमण र खाडी क्षेत्रमा समुद्री सुरक्षा संकटले क्षेत्रीय तनाव उत्कर्षमा पुगेको संकेत दिएका छन्।
बिहीबार बिहान इरानको राजधानी तेहरानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। इरानी समाचार एजेन्सी तस्निमका अनुसार विस्फोटपछि देशको सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। यसैबीच, इरानले इजरायलतर्फ नयाँ चरणको क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त आक्रमणपछि तेल अभिव र जेरुसेलममा चेतावनी साइरन बजेका थिए। इजरायलको आपतकालीन सेवाले हालसम्म कुनै मानवीय हताहत नभएको बताए पनि सुरक्षा अवस्था निकै संवेदनशील बनेको छ।
इजरायलले लेबनानको राजधानी बेरुतस्थित हिजबुल्लाहको गढ मानिने क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत विमानस्थल नजिकै भएका दुई आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
उता खाडी क्षेत्रमा पनि तनाव फैलिएको छ। कुवेत नजिकैको समुद्री क्षेत्रमा एउटा तेल ट्याङ्करमा ठूलो विस्फोट भएको छ। बेलायती समुद्री सुरक्षा एजेन्सीका अनुसार विस्फोटपछि ट्याङ्करबाट तेल चुहिएको छ। इरानले होर्मुज जलडमरूमध्य मा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै जहाजहरूलाई चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ।
टर्कीले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न लागेको इरानी ब्यालेस्टिक क्षेप्यास्त्रलाई नाटोको रक्षा प्रणालीमार्फत नष्ट गरिदिएको छ। टर्कीका अनुसार उक्त मिसाइल ग्रीक साइप्रसतर्फ लक्षित थियो। यता, कतारले इरानी आक्रमणको जोखिमलाई ध्यानमा राख्दै अमेरिकी दूतावास नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरु गरेको छ। कतारका प्रधानमन्त्रीले इरानले छिमेकीहरूलाई युद्धमा तान्न खोजेको आरोप समेत लगाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अमेरिकी सैन्य प्रदर्शनको उच्च प्रशंसा गरेका छन्। उनले अमेरिकी कारबाहीलाई '१० को मापनमा १५' को रेटिङ दिँदै अत्यन्त सफल भएको टिप्पणी गरे। यद्यपि, अमेरिकी सिनेटमा भने इरानमाथिको सैन्य कारबाही रोक्ने प्रस्तावमा मतदान भएको थियो, जुन रिपब्लिकनहरूको बहुमतका कारण अस्वीकृत भयो।
चीनले तनाव कम गर्न विशेष दूत पठाउने तयारी गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिका र इजरायललाई सैन्य आक्रमण रोक्न आग्रह गरेका छन्। अर्कोतर्फ, स्पेनले इरानमाथिको बमबारीका लागि आफ्नो सैन्य आधार प्रयोग गर्न दिएको भन्ने दाबीलाई खण्डन गरेको छ। क्यानडाले भने आफ्ना सहयोगी राष्ट्रहरूसँगै उभिने प्रतिबद्धता जनाएको छ।
विश्वका ठूला शिपिङ कम्पनीहरू मार्सक र हपाग-लोयडले खाडी क्षेत्रमा आफ्नो बुकिङ स्थगित गरेका छन्। युद्धको असर टाढा दक्षिण एसियासम्म पनि पुगेको छ। श्रीलङ्काको तट नजिक एक अमेरिकी पनडुब्बीले इरानी युद्धपोत डुबाएपछि समुद्रबाट ८७ जनाको शव बरामद गरिएको श्रीलङ्काली नौसेनाले जनाएको छ।