संविधानको रक्षा गर्न सक्ने सामर्थ्य भएको पक्षमा जनमत आउने पूर्वराष्ट्रपतिको विश्वास
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
534
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने सामर्थ्य भएको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन्। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्तिलाई चुनेर संसद्मा पठाउन मतदाताहरूसँग आग्रह समेत गरे।
पूर्वराष्ट्रपति यादवले २०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण २०८२ मै हुन लागेको उल्लेख गर्दै मतदाताहरूलाई गम्भीर र विवेकपूर्ण ढङ्गले मतदान गर्न सुझाए। "हामी देशमा उत्पन्न विषम परिस्थितिका कारण आज निर्वाचनमा होमिएका छौँ। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होस् र देशमा स्थिरता कायम हुने गरी जनमत आओस् भन्ने मेरो कामना छ," उनले भने। उनले नेपालको संविधान लोकतान्त्रिक आन्दोलनका उपलब्धिको परिणाम भएको बताउँदै संघीय लोकतान्त्रिक र समावेशी व्यवस्थालाई सुदृढ बनाउन सही पार्टी र व्यक्तिको छनोट गर्नुपर्नेमा जोड दिए।
गत भदौमा भएको 'जेनजी विद्रोह' लाई स्मरण गर्दै डा. यादवले युवाहरूका माग जायज भए पनि त्यसैको आडमा प्रतिगामी शक्तिहरूले अस्थिरता फैलाउने प्रयास गरेको टिप्पणी गरे। उनले सरकारले उक्त घटनालाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने औँल्याउँदै देशको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिको विजय आवश्यक रहेको बताए। उनले यो निर्वाचन सफल भएर देशमा पुनः शान्ति र स्थिरता कायम हुने विश्वास समेत व्यक्त गरे।