विवाद साम्य भएपछि सर्लाही-४ को बसबरियामा पुनः मतदान शुरू
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
1k
Shares
रौतहट । सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बसबरिया गाउँपालिका-३, भवानीपुरस्थित जनता मावि मतदान केन्द्रमा आज बिहान मतदान शुरू भएको केही समयमै विवाद उत्पन्न भएको छ ।
विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको अवस्थामा राजनीतिक दलका प्रतिनिधिबीच सामान्य विषयलाई लिएर भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
विवाद बढ्दै गएपछि मतदान अधिकृतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही समयका लागि मतदान स्थगित गरेका थिए।
घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिबीच भएको सहमतिका आधारमा अहिले विवाद समाधान भएको छ ।
केही समयको अन्योलपछि अहिले उक्त केन्द्रमा पुनः मतदान शुरू भएको छ र मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन्।
यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सर्लाही-४ लाई निर्वाचन आयोगले पहिले नै अति संवेदनशील सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारेको थियो ।
यो निर्वाचन क्षेत्र सीमावर्तीमा पर्ने भएकाले सबै मतदान स्थलहरूमा विशेष निगरानी राखिएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका गगन थापा, रास्वपाका अमरेश कुमार सिंह र जनमत पार्टीका राकेश मिश्रलगायतका उम्मेद्वारहरूबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
यस क्षेत्रको निर्वाचनलाई देशभर निकै चासोका साथ हेरिएको छ ।