काबा प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान, छिटोभन्दा छिटो परिणाम सार्वजनिक गर्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
445
Shares
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहान काठमाडौँ महानगरपालिका–२९ स्थित वडा कार्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशभर स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको बताए।
निर्वाचनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भण्डारीले सबै मतदाताहरूलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरे। उनले मतगणनालाई छिटो र छरितो बनाउन आयोगले विशेष योजना बनाएको समेत जानकारी दिए। खसेको मतको आधारमा आवश्यक गणना टोलीहरू परिचालन गरी छिटोभन्दा छिटो परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन २५ गतेभित्र प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरिसक्ने आयोगको अठोट रहेको बताए। आज देशभर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान कार्य उत्साहजनक रूपमा जारी छ।