तपाईंको कार्य सम्पादनको बारेमा उल्लेख गर्नु पर्दा नेपालमा कम्तीमा पाँच वर्ष कुनै किसिमको चुनाव नगरी देशको जिम्मा तपाईंलाई दिँदा हुन्थ्यो भन्ने धेरै पटक सोच्ने एक जना हुँ । तपाईं निडर, थोरै आक्रामक तर सरल स्वभाव, देश प्रेमको भावनाले भरिएकी प्रधानमन्त्री हुनुहुन्छ। तपाईंलाई चारैतिरबाट घेरामा पारेर प्रधानमन्त्री बनाए र प्रधानमन्त्री बनाए पश्चात सबैतिरबाट प्रहार गर्न पनि खोजे तर तपाईं कहिल्यै विचलित हुनु भएन ।
देशले धान्नै नसक्ने गरी पुरानो मुरली तुन्तुरुरु पारेर मात्र बसेकाहरूबाट देशलाई टाट पल्टिने अवस्था, यत्रतत्र सबै क्षेत्र सम्हान्न नसकिने गरी तहस नहस बनाए । युवापुस्ताको आक्रोशमा भएको आन्दोलनले तपाईंलाई प्रधानमन्त्रीका रुपमा रोज्यो । संविधानविहीन नागरिक हुन लागेका हामी नेपालीलाई जोगाउन खेल्नु भएको यस भूमिका इतिहासमा भावी पुस्ताले पनि अध्ययन गरी धन्यवाद दिनेछन् ।
अन्तवार्ता, आलेखहरू अध्ययन गर्दा तपाईंको दैनिकी त्यति सुखद पनि देखिँदैन । कडा मेहनत र आफ्नै सही निर्णय, ज्ञान, शिक्षा र अनुभवको नतिजा सन् २०१६ को जुलाई महिनामा हाम्रो इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश नियुक्त हुनु भएकोमा नेपालीहरूले तपाईंप्रति ठूलो सम्मान व्यक्त गरिरहेका छन् ।
प्रधानन्यायधीश हुनु भएको छोटो अवधिमा नै के-के जाती मिलेर बनेको पुरानो मुरलीको उही धुन बजाउने काममात्र गर्ने सरकार भने महाभियोग लगाउँदा राम्रो हुन्छ भनेर तम्सिएर तपाईँको सम्मानमा चोट दिए । तपाईंलाई त्यतिबेला पनि ठूलो अन्याय भएको हो भन्ने मानिसहरूको संख्या ठूलो थियो । तपाईंले जानीबुझी गल्ती गर्नु हुँदैन भन्ने हाम्रो सोचाइ र मान्यता सही थियो र महाभियोग फिर्ता पनि भयो ।
तपाईंले न्यायप्रणालीको सम्मानित पदमा रहनु हुँदा र आज व्यवस्थापिकाको सर्वोच्च पदमा रहनु हुँदा लिनु भएका निर्णयहरू अन्य लोभी पापीहरूका लागि भने अमान्य पनि हुन सक्छ तर साधारण नेपालीहरूका लागि कठीन अवस्थामा देशका लागि खेल्नु भएको सबैभन्दा महत्वपूर्ण भूमिका भन्दा अर्को केही गर्नुपर्छ जस्तो लाग्दैन ।
तपाईं जस्तै एक जना सम्मानित व्यक्ति सुशील कोइराला हुनुहुन्थ्यो । उहाँले संसदबाट संविधान घोषणा गरेर देशको लागि ठूलो उपहार दिएर जानु भएको थियो । त्यस बखत पनि मुरलीका धुनहरूले कान दुख्ने गरी फुक्दा पनि विचलित हुनु भएन । आज त्यही संविधान जोगाउनका लागि तपाईंले खेल्नु भएको भूमिका इतिहासमा बारम्बार उल्लेख हुनेछ । तपाईंलाई प्रधानमन्त्री नबनाएको भए खै के खै के नै हुन्थ्यो ।
छोटो अवधिमा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी सम्हादै गर्दा शुरूआतमा तपाईंलाई सहयोग गर्न त परको कुरा तपाईंलाई धेरैले मन पराएनन् । तपाईंको जस्तोसुकै कठीन अवस्थामा पनि काम गर्न सक्ने क्षमताले हामी सरकारले वाचा गरेअनुसार ६ महिनाभित्रै नयाँ प्रतिनिधि छान्नका लागि तयारी अवस्थामा छौँ ।
तपाईंलाई निर्वाचन तयारी गर्ने सिलसिलामा धान्नै नसक्ने गरी पीडा भयो तर गुनासो गर्ने ठाउँ नभएकोले सहन बाध्य हुनुभयो । देश प्रतिको सम्मानमा कुनै आँच आउन दिनु भएन ।
तपाईंको छनोटमा पर्नु भएका अर्थमन्त्री, गृहमन्त्री, कानूनमन्त्रीहरूप्रति पनि उच्च सम्मान छ, उहाँहरूले कहिल्यै पदको घमण्ड देखाउनु भएन । हाम्रै देश यत्तिका क्षमतावान, निष्ठावान र सही निर्णय लिने मानिस बस्ने देश होहै भनेर परिचय दिन सफल यहाँहरूको भूमिका इतिहासमा उल्लेख हुनैपर्छ ।
हामी योग्य व्यक्ति छान्नका लागि मतपत्र हातमा परे पश्चातमात्र सम्भव हुने अवस्थामा छौँ । कोही नयाँ धुन भन्दै हुतुतुतु...कोही पुरानै धुन भन्दै तुन्तुरुरु...कोही ट्वारारा... कोही भने ऊहुहु..., कोही लहैलहै...गरिरहेका छन् ।
के गर्न खोज्या हुन्, केही त पक्कै गर्छन होला हेरौँ । दिदी तपाईंको आँट, निर्णय क्षमतालाई विश्वले अध्ययन गर्नेछ । नेपालमा कसरी यति छोटो अवधिमा निर्वाचन सम्भव भनेर धेरैले अध्ययन गर्ने अवस्था बनाई दिनु भएकोमा तपाईंलाई उच्च सम्मान छ। दिदी इतिहासले तपाईंलाई न्याय गर्नेछ।